काठमाण्डौं । संगीतकार तथा गायक तारा प्रकाश लिम्बूले आफ्नो नयाँ सृजना ’बर्षगाँठको शुभकामना प्यारी तिमीलाई’ गीतले नयाँ ट्रेण्ड लिनसक्ने आशा व्यक्त गरेका छन् ।
उनले हाल विभिन्न सञ्जाल र रीलहरुमा जन्मदिन र शुभविवाहका गीतहरु मात्रै प्रायः उपलब्ध हुने गरेको सन्दर्भमा दम्पत्तीहरुबीच बर्षगाँठमा एकअर्कामा शुभकामना आदान–प्रदान गर्न आफ्नो नयाँ गीत ’बर्षगाँठको शुभकामना प्यारी तिमीलाई’ ले खाली ठाउँ भर्ने आशा व्यक्त गरेका छन् ।
गत शनिबार रीलिज भएको आफ्नो सृजना ’बर्षगाँठको शुभकामना प्यारी तिमीलाई’ युगल गीतमा पुरुष स्वर संगीतकार लिम्बू आफैंले भरेका छन् । साहित्यकार जानू काम्बाङको शब्द रहेको उक्त प्रेमगीतको महिला आवाज गायिका अन्नू चौधरीको रहेको छ । ‘बर्षगाँठको शुभकामना प्यारी तिमीलाई’ दम्पत्तीहरुबीच मात्रै नभएर दम्पत्तीहरुलाई बधाई र शुभकामना दिनका लागि शुभच्छुकहरुबीच पनि लोकप्रिय बन्न सक्ने अनुमान गायक तथा संगीतकार लिम्बूको छ ।
‘बर्षगाँठको शुभकामना प्यारी तिमीलाई’ को म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री गरीमा शर्मा र पत्रकार तथा सामाजिक अभियन्ता खुशी लिम्बूको अभिनय रहेको छ ।
सुरशे पाण्डेले निर्देशन गरेको यस भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने सौरभ लामाले छायांकन गरेका हुन् ।