“फरक यति हो उनीहरू (खगेन्द्र लामिछाने र बुद्धिसागर) निधारमा घाम बोकेर काठमाडौ आए । म घुच्चुकमा घाम बोकेर काठमाडौ छिरेँ। नत्र हाम्रो सपना उस्तै थियो।”–यो भनाई अभिनेता दयाहाङ राईको हो ।
‘नेपाल लिटरेचर फेस्टिवल’ को एउटा अंकमा ‘शहर, साथी र सपना’ शीर्षकको सेसनमा सहभागी सहकर्मी साथीहरू लेखक बुद्धिसागर र कलाकार तथा निर्देशक खगेन्द्र लामिछानेसँग एकै लहरमा बसेर दयाहाङ् राईले आफ्नो कुरा सुनाएका थिए । सोही सेसनको सुरुवात गर्दै लेखक बुद्धिसागरले भनेका थिए, “दया र म चिनजान हुनु अगाडि एउटा नाटकमा सँगै अडिशन दिन पुगेछौँ । मेरो ज्यान हेरेर मलाई राजकुमारको चरित्र दिईयो । दयाको ज्यान र फेस हेरेर राजकुमारको दर्बानको चरित्र दिईयो । तर, अभ्यासको क्रममा हामी ठिक उल्टो भयौं । प्रदर्शन हुने बेलासम्म दया राजकुमार र म दर्वानको चरित्रमा बदलियौं ।”
नेपाली सिने उद्योगले लामो कालखण्ड एउटै शुत्र र लयमा फिल्महरू बनायो । निश्चित संख्यामा गीत, निश्चित संख्याको फाईट, खलपात्रले नायिकालाई दुःख दिने, नायिकाको रक्षार्थ नायक आईपुग्ने, दर्जनौं खलनायकलाई एउटा नायकले धुलिसात बनाउने । सुत्रबद्ध र मुखाग्र बनाइए जस्तो संवाद जहाँ कुनै स्वभाविकता देखिदैनथ्यो । यस्तैयस्तै सुत्र चलिरह्यो। सायद यो पुरानो भएकैले गर्दा नेपाली सिने उद्योग प्यारालाईसिस् भईसकेको थियो । त्यति नै बेला चलचित्र ‘लुट’ आइदियो । लुटमा हामी जस्तै पात्र थिए । हामीले बोल्ने भाषा र शैली थिए । हामीले जस्तै दैनिकी गुजार्थे । जता हिँड्दा पनि सँगै ठोक्किए जस्तो लाग्ने कथा थियो । न त सुकिला र हिरो भन्न सुहाउने मान्छे थिए, न त कुनै फ्रेममा बाँधिए जस्तो लाग्थ्यो तिनको चरित्र । हेर्दा साह्रै निस्फिक्री छोडिएका ती चरित्रले निभाएको भूमिका कुनै ‘स्क्रीप्टेड’ कथा जस्तै लाग्दैन । एकदम स्वभाविक हर्कत र बोली वचनले फिलिमलाई जीवन्त बनायो । त्यही मोडदेखि नेपाली सिनेमाको परम्परागत हिरो चरित्रमाथी पुनर्विचार गर्नुपर्ने अवस्था सुरु भयो । हिरो भन्नासाथ बलिष्ठ र सानदार ज्यान, मोटाघाटा पाखुरा, ठुलाठुला आँखा, चुच्चो र लामो नाक भएको चरित्र खेल्ने गरेको मस्तिष्कलाई लुटले खल्बलाइदियो । हाकु काले र गोफ्ले जस्ता अनुहार, जिउ र चरित्रहरू हाम्रो समाजका हिरो हुन सक्छन् भन्ने छाप बनाइदियो । त्यही लुटको गोफ्ले अर्थात दयाहाङ राई आज हिरोको परम्परागत मान्यताको ठिक बिपरित उभिएर नेपाली सिनेमाको नयाँ गोरेटो कोरिरहेका छन् । ज्यान र अनुहारले होईन हिरो त चरित्र र माटोसँग जोडिएको अभिनयले बनाउने हो भन्ने तथ्यलाई अब पनि स्वीकार्न सकिएन भने हामी निक्कै ढिला हुनेछौँ ।
दयाहाङ् राईसँग आई.ए. पछि मात्रै गाडी चढेको अनुभव छ । रोजगारी गर्दै आफ्नो पढाईलाई अगाडि बढाउँदै लैजाने सपना लिएर भोजपुरबाट काठमाडौ छिरेको एउटा ठिटो जोसँग कलाकारिताको कुनै साईनो नै थिएन । बिरलै कल्पना गरिन्छ कि, त्यो ठिटोले एक दिन सिने उद्योगको लय नै बदलीदिनेछ । दयाहाङ राईको हकमा त्यो लागू भयो । त्यसर्थमा ‘स्टार कलाकार’ हुनका लागि त्यही घराना वा वातावरण चाहिन्छ भन्ने कुरा सही होइन, व्यक्ती स्वयंमा जन्मजात क्षमता हुनुपर्छ भन्ने मान्यता स्थापित हुन्छ ।
मिरुना मगर, ब्रिटिश आर्मी परिवारको छोरीका रुपमा हङकङमा जन्मिएकी हुन् । दुई बर्षको उमेरमा हङकङबाट नेपाल आएकी उनी १२ बर्षपछि बेलायत पुगिन् र उतै हुर्किईन्, बढिन्, पढिन् । उनी लाहुरेको छोरी मात्र नभएर कुनै समय धरानको रंगमञ्चमा कहलिएकी कलाकार शशी थापा सुब्बाकी छोरीसमेत हुनुले सायद जन्मजात कलाकारिताको अंश उनीमा पनि आएको थियो । त्यही अंश पच्छ्याउँदै मिरुना बेलायतमा चलिरहेको अध्ययनसँगै नेपाली सिने क्षेत्रमा आफ्नो कदम राख्न आईपुगिन् । स्वभाविक रुपले उनका सुरुवाती दिनहरू यो क्षेत्रमा उनका लागि बिरानो थिए । उनको कलाकारिताले उस्तो फराकिलो दायरा बनाउन सकेन । तर, उनी हतास नभई निरन्तर लागिरहिन् । उनले एउटा पृथक मानक बनाईन् । सिने क्षेत्रमा काम गर्ने महिलाहरूले आकर्षक देखिने नाममा छोटा र असजिला लुगा लगाउनुपर्छ वा शरीरका विभिन्न भागहरू देखाउनैपर्छ भन्ने एउटा मानसिकतालाई तोडिदिईन् । उनले सामान्य जीवनशैली बिताउने र साधारण लुगा लगाउने, ग्रामीण चरित्रका आम महिलाहरू पनि हाम्रो समाजका लागि ‘हिरो’ पात्र बन्न सक्छन् भन्ने यथार्थ देखाईदिईन् ।
मिरुनालाई बहुसंख्यक दर्शकले कबड्डी फिल्मको चौथो संस्करण ‘कबड्डी–४ द फाईनल म्याच’ बाट चिने । तर त्यसअघि उनले ‘लालपूर्जा’, ‘रोज’, ‘च–च हुइँ’, ‘साईनो’ जस्ता फिल्महरूमा अभिनय गरिसकेकी थिईन् । सन् २०१८ मा लालपूर्जाबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी मिरुनालाई चार बर्षपछि कबड्डी सिरिजको फिल्मले आम दर्शकमाझ चिनायो । करिब तीन बर्ष कोरोना महामारीले अस्तव्यस्त बनेको मानव जीवन र त्यससँग सम्बन्धित सबै खाले गतिविधिहरू ठप्प रहँदा सिने उद्योग पनि थला परेकै थियो । तर, बहुप्रतिक्षित चलचित्र कबड्डी–४ नेपाली सिने क्षेत्रका लागि संजिवनी बुटी बनेर आयो । दर्शकहरूलाई यसले खचाखच हलसम्म तान्यो । यसको केन्द्रमा थिए दयाहाङ् राई र मिरुना मगर । यो ‘रिल जोडी’ प्रतिको दर्शकहरूको अपेक्षा र भरोसा कै कारण कबड्डी–४ अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गर्न सफल नेपाली फिल्म बन्न पुग्यो । यो फिल्म लामो समय सिनेमा हलहरूमा चल्यो, यसपछी थुप्रै फिल्महरू आए, गए । समिक्षकहरूले राम्रै अपेक्षा गरेको फिल्महरू रिलिज भएको २÷४ दिन मै दर्शकवीहिन बन्न पुग्थे । दर्शकहरू फेरि पनि सिनेमा घरसम्म जान अनकनाउन थाले । त्यही बेला ‘जारी’ फिल्म आयो । सम्भवतः लगातार शय दिन सिनेमा हलमा चल्ने थोरै फिल्महरूमा जारी प¥यो । दयाहाङ–मिरुनाको मुख्य अभिनय रहेको यो फिल्मले धेरै खाले ‘रेकर्ड’ हरू तोड्यो । गत बैशख १ गते हलहरूमा रिलिज भएको जारीपछि आएका थुप्रै फिल्महरू आए–गए, पत्तै भएन । फेरि दर्शकहरू नेपाली फिल्मप्रति ओँठ लेप्र्याउने अवस्थामा पुग्दैथिए । त्यही बीचमा यतिखेर फिल्म हलहरूमा उनै दयाहाङ–मिरुना अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ चलिरहेको छ । यस फिल्म बारे मिश्रित प्रतिक्रियाहरू आईरहेका छन् समिक्षकहरूबाट । तर, अधिकांश दर्शकहरू भने पूर्ण सन्तुष्ट देखिन्छन् । रिलिज भएको पहिलो हप्ताभर देशभरका फिल्म हलहरूमा दर्शकहरू भरिभराऊ देखिन्छन् । यसर्थमा दयाहाङ्–मिरुना जोडीको यो तेस्रो फिल्म पनि ‘सुपर हिट’ को सूचिमा रहने निश्चित छ ।
दयाहाङ् राई र मिरुना मगर नेपाली सिने उद्योगका लागि यतिखेर राम्रो ‘बेञ्च–मार्क’ बन्न सक्छन् र बन्नुपर्छ । लामो समयसम्म एउटा मान्यता स्थापित थियो फिल्मको हिरो वा हिरोईन् बन्नका लागि अघोषित निश्चित मापदण्डहरू थिए । शारिरिक बनावट, आँखा–नाकको आकार–प्रकार, छालाको रंग, अंग प्रदर्शन इत्यादिका हिसाबले मापदण्डभित्र पर्नेहरू हिरो वा हिरोईन् हुन पाउँथे । तर, अहिले त्यो मनोबिज्ञान बदलिने क्रममा छ । रील कै नायक वा नायिका पनि दर्शकको जिन्दीगसँग जोडिएको अनुभूति हुनुपर्छ अभिनय र कथानकका हिसाबले । उनीहरूको शारिरिक बनावटभन्दा बढी आम दर्शकलाई महसुस गराउन सक्नु महत्वपूर्ण कुरा हो भन्ने लाग्छ । दयाहाङ–मिरुनाले गर्ने अभिनय त्यस्तै छ । हुन त विषय अनुसारको अभिनय गराउने त निर्देशकले हो । तर सही मान्छेलाई आवश्यक भूमिका दिन नसक्दा नै झुर फिल्महरू बनेका होलान् ।
एक समय थियो राजेश हमाल र करिष्मा मानन्धरको रील जोडीले खेलेको फिल्म विरलै घाटामा जान्थ्यो । कतिपय निर्माता निर्देशकले त राजेश हमाललाई पोस्टरमा देखाउन कै लागि पनि सानो भूमिकामा राखिदिने गरेको अनुभव सुनाउँछन् हमाल आफै । एक हिसाबले त्यो जोडीले नेपाली सिने उद्योगको सिँगो भार लामो समयसम्म थामेको थियो । यतिखेर त्यो भार थाम्ने जिम्मा दयाहाङ–मिरुनाको जोडीलाई आइपरेको देखिन्छ ।
दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनिकान्तलाई फिल्ममा हारेको वा मरेको/मारिएको दृष्य देखाइएमा उनका समर्थकले फिल्म हलहरू नै जलाइदिन्छन् भन्ने किस्सा छ । नाङ्गो गाउँ फिल्ममा दयाहाङ् राईले चुनाव हारेर गाउँ छाड्नुपरेको दृष्य भएकै कारण फिल्म नराम्रो र मन नपरेको भन्ने दर्शकहरू पनि देखिए। अर्थात हामी आफ्नो ‘आईडल’लाई सधै ‘Larger Than Life’ नै देख्न चाहने रहेछौँ भन्ने देखियो । तर यथार्थ त्यस्तो हुँदैन। कैयौँ हिरोहरू गुमनाम छन् हामी कहाँ । ती हिरोहरूको कथा भन्नै बाँकी छ। त्यसैले पनि यो जोडीले अति राम्रो अवसरसँगै अनेकौँ चुनौतिकाबीच नेपाली सिने क्षेत्रलाई फराकिलो बाटो बनाईदिन सक्छ । हामीसँग हाम्रो आफ्नै माटोसँग खेलिरहेका कथाहरू प्रसस्तै छन्। हामीसँगै अनेकौँ हिरोहरू हाम्रै वरिपरी बाँचिरहेका छन् । तिनै कथा र हिरोहरूलाई जीवन्तता दिने कुरामा यो जोडीले काम गर्ने हो भने भोलि बन्ने फिल्महरूले कथा खोज्न कुनै अपरिचित शहर पुग्नु पर्दैन, कथा लेख्न कुनै भव्य शहरको बातानुकुलित होटलको खोजी गर्नुपर्दैन। आफू उभिएको माटो र आफूले हिँडी आएको बाटोलाई महसुस गरे पुग्छ ।