काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा ५ वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’मार्फत रङ्गमञ्चमा प्रस्तुत भएका हुन् ।
असार ८ देखि साउन १४ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेता सापकोटासँगै रेणु योगी र गोविन्द सुनारले अभिनय गरिरहेका छन् ।
त्यस्तै, मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’को ११औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ कुमार नगरकोटीले लेखेका छन् । कोराघाट नाटकको कथा ‘कोराघाटका कियापुत्रीहरू’ मा आधारित छ । कमलमणि नेपालले निर्देशन गरेको यो नाटक असार २१ गतेसम्म मञ्चन हुनेछ ।