काठमाडौं । काठमाडौंमा ‘पाल्पा महोत्सव’ हुने भएको छ । पाल्पाली कला, संस्कृति, परिकार, उत्पादन, पहिचान र पर्यटन तथा ऐतिहासिक पुरातात्विक र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
शनिबार बिहान १० बजे राष्ट्रिय सभा गृहमा सुरु महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गर्ने महोत्सव कार्यक्रमका संयोजक याम झेडीले जानकारी दिए ।
झेडीका अनुसार महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर राखिनेछ भने बुक स्टलका साथै फोटो तथा भिडियो प्रर्दशनी पनि हुनेछ । महोत्सवमा पाल्पाली ढाका, करुवा, कफी, बटुकलगायतका पाल्पाली उत्पादन तथा परिकार पनि राखिने छ ।
पाल्पाली संगमको स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको यस महोत्सवमा नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री बद्री पङ्गेनी, धिरेन शाक्य, इन्द्र जिसी, रीता थापामगर, लक्ष्मी न्यौपाने लगायत झन्डै २० पाल्पाली कलाकारको विशेष प्रस्तुति रहनेछ भने महोत्सवमा कौरा, सोरठी, ख्याली र चुट्का नृत्यसहित प्रत्यक्ष दोहोरी कार्यक्रम पनि हुनेछ ।
२०३२ सालदेखि नै अनौपचारिक रुपमा सुरु भएको पाल्पाली संगमले विभिन्न गतिविधि गर्दै आइरहेको थियो । त्यतिबेला पञ्चायती व्यवस्थामा संस्था दर्ता गर्न अनुकुल नभएकाले बहुदल आएपछि २०४८ साल बैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको पाल्पाली संगमले हरेक वर्षको वैशाख ५ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आइरहेको महासचिव जीवन भण्डारीले जानकारी दिए ।