काठमाडौं । द्धन्दको विषयलाई उठान गरिएको भन्दै चलचित्र ‘वीर योध्दा’लाई प्रदर्शनमा रोक लागेको छ । असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने भनिएको उक्त चलचित्र सेन्सर बोर्डले चलचित्र हेरे पनि गृहले आधिकारीक निर्णय नगरेसम्म प्रदर्शन स्विकृति दिन नसकिने बताएपछि चलचित्रको सार्वजनिक मिति अन्यौलमा परेको छ ।
उद्धव अविदितद्धारा निर्देशित ‘वीर योद्धा’ चलचित्रले द्धन्दको विषयलाई उठान गरेको हुँनाले प्रदर्शनमा रोक लगाइएको निर्देशक अविदितले बताए । ‘सेन्सर बोर्डले फिल्मको कथावस्तु निकै गंभिर खालको रहेको छ । यो पहिलो गृह मन्त्रालयलाई देखाएर ल्याउनुहोस् अनि मात्रै फिल्मको सेन्सर हुन्छ । नत्र सेन्सर गर्न सकिदैन भन्ने कुरा सेन्सर बोर्डले गरेको छ । यस कारण असोज १ गतेबाट डिस होममा चल्ने फिल्म प्रदर्शनमा रोकिएको हो ।’, उनले भने ।
त्यसैगरी यस फिल्मका निर्माता गुणराज राजभण्डारीले फिल्म प्रदर्शनमा रोक लगाएकोमा दुख्ख ब्यक्त गरे । ‘निर्माण टिमले कपोलकल्पित, ढर्रावाला कथालाई भत्ता पचाउदै गरेका तथाकथित चलचित्र विज्ञहरूको सामुन्ने यथार्थलाई अभिव्यक्त गर्न खोज्दा आज एउटा फिल्म प्रतिबन्ध हुन पुगेकोमा निकै दुखी भएको छु, उनले भने, ‘यो गणतन्त्र प्राप्तिलाई एउटा उपलब्धीको रुपमा लिइने गरिन्छ । जनताको चाहाना अनुसारको संविधान र व्यवस्था तुहाइदिएपनि शासकहरू निरंकुश बन्दा जनताको मौलिक अधिकारहरु ठाउँ ठाउँमा हनन् हुन पुगेको छ । यस्तै हाम्रो फिल्म पनि बन्द हुन पुगेको छ । यस कारण दुख लागेको छ । फिल्म जनताको आवाज बोल्ने भएका कारण प्रदर्शनमा रोकिएको हो ।’
चन्द्र सुर्य फिल्मसको् ब्यानरमा निर्माण भएको फिल्ममा बिराज भट्ट, जेनिसा केसी, शैलेस बखती, गणेश उप्रेती, सुरवीर पण्डित, मुकुन्द थापा, रश्मी भट्ट, विनोद श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको निर्माण संयोजनमा किसान पोख्रेल रहेका छन् ।
फिल्ममा शम्भुजित बास्कोटाको संगीत, महेन्द्र थापाको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । कविराज गहराजको नृत्य निर्देशन रहेको फिल्मलाई गुणराज राजभण्डारी, सन्तोष केसी, रामहरी श्रेष्ठको लगानी रहेको छ । यसअघि पनि सरकारले केहि फिल्ममा प्रदर्शनमा रोक लगाएको थियो ।
देशमा गणतन्त्र आइपुग्दा मदन भण्डारी र मदन आश्रितको आधारित फिल्म ‘दास ढुङ्गा’ प्रदर्शनमा रोक लगाएको थियो । जुन अहिले पनि कायमै रहेको छ ।