काठमाडौ । गीतकार संघ नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम कोभिडका कारण गत वर्ष हुन नसकेपनि यो वर्ष आगामी असोजको पहिलो साता हुने कुरा संघले प्रेस विज्ञप्ति प्रकाशित गरि जानकारी गराएको छ ।
विज्ञप्ति अनुसार यस वर्ष नवौं ‘अमर भावना राष्ट्रिय सम्मान’, वर्ष गीत पुरस्कार, वर्ष गीत पुस्तक पुरस्कार, डायस्पोरा गीतकार सम्मान’ र यस वर्षबाट प्रदान गर्न लागेको ‘विष्णुमनसरा घले मातृभाषा गीतकार सम्मान’ वितरण गरिने छ ।
संघले यस वर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७७’ विशिष्ट गीतकार विश्व वल्लभलाई एक लाख एकाउन्न हजार नगद सहित ताम्रपत्रले सम्मान गरिने भएको छ । त्यसैगरी हरेक वर्ष प्रदान गर्दै आएको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार हरि उप्रेतीलाई नगद पन्ध्र हजार र प्रमाणपत्र सहित ‘डायस्पोरा गीतकार सम्मान २०७७’ प्रदान गरिने भएको छ । यस वर्षबाट प्रदान गरिने ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७’ गुरुङ भाषाका गीतकार कृष्णबहादुर गुरुङ ‘लमजुङ’लाई नगद पच्चिस हजार, पाँच सय बाउन्न सहित प्रमान पत्र प्रदान गरिने भएको छ ।
संस्थामा आवद्ध सदस्यहरूले २०७७ मा सार्ववनिक गरेका र संस्थामा विधिवत रुपमा दर्ता भएको गीतहरू मध्यबाट ‘वर्ष गीत पुरस्कार २०७७’ मा दश गीत छनौंटमा परेका छन् । जसमा ‘चुडी जान’े राजु थापा, ‘आफै हिड्ने’ रमेश दाहाल, ‘सोच्दैछु’ सुरेश आले, ‘तस्विर’ रविन्द्र आशिष शैली, ‘तिमिलाई’ ध्रुब अमगाई, ‘गन्जी मैलो’ रमेश अधिकारी, ‘यही देशमा’ एचके धिताल, ‘यो कस्तो कहर’ प्रवल बिष्ट, ‘बाँचुन्जेल हाँसो’ वीवी थापा र ‘एकान्तमा’ अगम बिकराल रहेका छन् ।
वर्ष गीत तर्फ यो वर्ष ‘मनको आकाश’ गणेश श्रेष्ठ ‘अपेक्षा’, ‘फूलको मुस्कान’ घन बहादुर थापा मगर, ‘नथाक्ने मान्छे’ जेबि थुलुङ रहेका छन् । छानिएका उत्कृष्ट दश गीतहरू र तीन पुस्तक मध्येबाट विशेष समितिले चयन गर्ने एक एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रम स्थलमै घोषणा गरि प्रत्येकलाई ५७ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष शुभ मुकारुङद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।