काठमाडौं । चैत्र १६ देखि चैत्र १८ सम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई चलचित्रमार्फत दर्शाउदै महोत्सवले सबै फिल्मकर्मीको मनोबल उच्च बनाएको छ ।
महोत्सवमा ३७ देशका ६० चलचित्रहरू सहभागी थिए । महोत्सवमा चलचित्र प्रदर्शन, प्यानल छलफल र मास्टर क्लास आयोजना भएको आयोजक संस्थाले बताएको छ ।
“पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, सिनेमाको कलालाई कला मात्र नभई मानवअधिकार र दिगो विकास जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा संवादलाई मञ्चको रूपमा पनि काम गर्ने एउटा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौँ,” नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले भने, “चलचित्रको विश्वव्यापी भाषाको माध्यमबाट हामी सीमा पार सहानुभूति, समझदारी र सहकार्य आदान प्रदान गर्न हाम्रो फिल्महरुले फुलको काम गरेको थियो ।”
उक्त महोत्सवको लागि नेपालबाट लिम्बू कथानक चलचित्र “थिम” ले बेस्ट अवार्ड हात पार्न सफल भको छ । नेपालको आदिवासी लिम्बू समुदायको साँस्कृतिक अधिकारमाथि बनाइएको चलचित्र सागर केरुङको लेखन, यलम्बर खम्बु (आइदेव राई) को निर्देशन र याक्थुङ फिल्मसको ब्यानरमा निर्माण गरिएको हो ।
निर्णायकको रूपमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर सहित नेपालका मोहन निरौला, शान्ति प्रिय, आशा दवाडी, मोहन राई, सुष्मा कार्की, जय निशान्त र सुवास श्रेष्ठ प्रधान रहेका थिए ।
महोत्सव चलचित्र विकास बोर्डको सभाहल सन्चालन भएको थियो । यस वर्षको संस्करणले सांस्कृतिक आदानप्रदान र समझदारीको माध्यमको रूपमा फिल्मको विश्वव्यापी प्रबर्दन भएको सन्तोश सुवेदीले बताए ।