लन्डन । साहित्यकार संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ विमोचित भएको छ । शनिबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ८७ औं पारिजात जयन्ती उत्सवको अवसरमा उपन्यास विमोचन गरिएको हो ।
डा. वीरेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा लेखक डा. रुपक श्रेष्ठ र प्रतिमा केसीले उपन्यासको समीक्षा प्रस्तुत गरेका थिए ।
पुस्तकबारे बोल्दै प्रतिमा केसीले उपन्यासको गहिराइ र परिपक्वताको प्रशंसा गरिन्, “उपन्यासले एक महिलाको मन, उनको पीडालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ। यसले नेपालमा महिला बेचबिखनको मुद्दालाई सफलतापूर्वक उठाएको छ। उपन्यासले सामाजिक, आर्थिक असन्तुलनलाई पनि देखाएको छ। संगीता स्वेच्छाको किशोरावस्थामा लेखिएको यो उपन्नास हरेक कोणबाट परिपक्व छ र नेपाली साहित्यले यस उपन्यासमा गर्व गर्न सक्छ’, कार्कीले भनिन् ।

यस्तै, पुस्तकबारे बोल्दै डा. रुपक श्रेष्ठले तीन दशकअघि स्वेच्छाको उल्लेखनीय उपलब्धि रहेको बताए । उनले भने, “म अझै पनि अचम्ममा छु कि त्प्रसबेला एउटी १८ वर्षीय किशोरीले कसरी यो उपन्मासको कल्पना गर्न सक्छ । यो उपन्नासको परिपक्वता किशोरीले लेख्न सक्ने भन्दा धेरै अगाडि छ किनभने यसले महिला बेचबिखन, नेपाली समाज को सामाजिक, आर्थिक जीवन, महिलाको मनोविज्ञानलाई प्रस्तुत गर्दछ।”
संगीता स्वेच्छाले ३ दशकअघि प्रकाशित आफ्नो उपन्यासलाई पुनः परिचय गराउने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरिन् । उनले अनेसास बेलायतलाई आफ्नो उपन्यासले कार्यक्रम मार्फत पुर्नजीवन पाएकोमा धन्यवाद व्यक्त गरिन् ।
बुक हिलद्वारा प्रकाशित सेतो सिउँदोको हाल अङ्ग्रेजीमा अनुवाद भइरहेको र चाँडै अंग्रजी संस्करण पनि आउने स्वेच्छाले बताइन् । उनको यसअघि ‘पखालिएको सिउँदोको नाममा’ पुस्तक प्रकाशित भएको थियो।