काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेसा बेलायतका अध्यक्ष केशबहादुर गुरुङले नेपाल सरकार नबोलेसम्म बेलायती भूपू सैनिकहरुको पेन्सनसम्बन्धि समस्या समाधान नहुने बताए ।
कांग्रेसको महासमिति बैठकको तेस्रो दिन बोल्ने मौका लिएर अध्यक्ष गुरुङले भने, ‘अहिले बेलायतमा जुन भूपू गोर्खा सैनिकका समस्या छ, त्यसमा वेलायत सरकार र नेपाल सरकारको वार्ता भइरहेको छ । वार्ता ६/७ पटक भइसक्यो तर त्यसको नतिजा केही आउन सकेको छैन । नेपाल सरकार नबोलेसम्म यसको नतिजा आउनेवाला छैन ।’ अध्यक्ष गुरुङले भूपू व्रिटिश सैनिकहरुको पेन्सन ब्रिटिश आर्मीहरुको बराबर हुनुपर्ने बताए ।
यस्तै अध्यक्ष गुरुङले बिदेशमा रहेका नेपालीहरूको वंशजको नागरिकताको निरन्तरताका लागि समेत माग गरेका छन् । “विदेशमा गएर त्यहाँका नागरिकता लिनसाथ त्यहाँको नागरिकता स्वतः खारेज हुने जुन कानून छ, त्यो कानूनलाई ‘नेपाली एकपटकको नेपाली सधैंको नेपाली’ को रुपमा कांग्रेसले कार्यपत्रमा प्रस्तुत गर्न अनुरोध छ”, उनले भने ।