काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाली फिल्म ‘गोर्खा वारिअर’लाई सफलताको शुभकामना दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको तर्फबाट अगस्ट १७ मा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले पत्र लेखेर शुभकामना दिएका हुन् ।
चलचित्रका निर्माता र निर्देशक मिलन चाम्सले गत जुलाई २० मा सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई प्रिमियर समारोहमा उपस्थित हुन निम्तो दिंदै पत्र लेखेका थिए । उक्त पत्रको जवाफमा प्रधानमन्त्री सुनकले आफू कार्यव्यस्तताको कारण प्रिमियर समारोहमा उपस्थित हुन नसक्ने जवाफ समेत दिएका छन् ।
‘बहादुर गोर्खा सैनिकबारे वीरता, त्याग र समर्पणबारे बनेको यो फिल्मबारे थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । दुर्भाग्यवश, कार्यव्यस्तताको कारण म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । यद्यपि, प्रिमियर र फिल्म सफलताको शुभकामना दिन चाहन्छु । पत्रको लागि धन्यवाद’, प्रधानमन्त्री सुनकले पत्रमा लेखेका छन् ।