March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

बेलायतमा भव्य रुपमा मनाइयो ‘यलम्बर डे’

4.4K

लन्डन । बेलायतमा प्रथम किराती राजा यलम्बरको सम्झानामा ‘यलम्बर डे’ मनाइएको छ । शनिवार बेलायतको वकिङस्थित ग्याम्वल लेनमा विविध कार्यक्रमका साथ भव्य रुपमा यलम्बर डे मनाइएको हो ।

धनुषबाँण प्रतियोगिता, कलाकार, खेलाडी, साहित्यकार र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै सांगीतिक प्रस्तुतीहरु गरेर यलम्बर डे मनाइएको थियो । कार्यक्रमलाई किरात राई यायोक्खा बेलायतले आयोजना गरेको हो ।

कार्यक्रमको पहिलो चरणमा धनुषबाँण प्रतियोगिता, दोस्रो चरणमा औपचारिक कार्यक्रममा सम्मान तथा शुभकामना मन्तव्य र तेस्रो चरणमा सांगीतिक कार्यक्रमहरु रहेका थिए ।

Advertisement

कार्यक्रममा खेलाडी राष्ट्र राई, संगीतकार तथा गायक विसी राई राई, गायिका जानुका राईलाई सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न विषयमा स्नातकोत्तर भन्दा माथिल्लो तहमा शिक्षा हासिल गर्ने अस्मिता राई, तायुङ राई, निलम राई, समिन राई, सन्ध्या राई, अस्मिता राई, भूमिका राई आसाम्छा राई, कामना राई र सन्जया राईलाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

धनुषबाँण प्रतियोगिताका विजेताहरु पुरुषतर्फ अम्मर राई, भुपजीत राई विजेता र दिनेश राई उपविजेता भएका थिए । महिलातर्फ मनिका राई विजेता र गीता राई उपविजेता बनेकी थिइन् । बालबालिका तर्फबाट गौरव राई विजेता बनेका थिए । विजेता र उपविजेता हुनेहरुलाई ट्रफीसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खा बेलायतले बार्षिक रुपमा प्रकाशन गर्दै आएको सुम्निमा–पारुहाङ मुखपत्रको विमोचन पनि गरिएको थियो । प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकार विसी राई र गायिका जानुका राईले पनि आफ्ना प्रस्तुती दिएका थिइन् । कार्यक्रममा कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा संविधानसभाका सदस्य तारा राई रहेकी थिइन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कल्पना राई, किरात राई यायोक्खा नेपालको पूर्व अध्यक्षहरु डा. सुमाया राई, यशोदा राई पनि अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार तथा संरक्षकहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र राईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मानुस राईले गरेका थिए ।