लण्डन । बेलायती मन्त्री लिओ डोकर्टी र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचर्यबीच भेटवार्ता भएको छ । भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि उनिहरुबीच भेटवार्ता भएको हो ।
नेपाली दुतावासका अनुसार गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री डोकर्टीबीच मंगलबार लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको थियो ।
भेटवार्ता भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित थियो । वार्ताको मिति भने अझै तोक्न नसकिएको तर नेपालको तर्फबाट छिट्टै वार्ता गर्न बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ ।
छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेको दूतावासले उल्लेख गरेको छ ।