काठमाडौं । लन्डनमा भुतपूर्व गोर्खाको समर्थथन गर्दै विशाल प्रदर्शन भएको छ । शनिबार र आइतबार आमरणस्थल प्रधानमन्त्रीको कार्यालय आसपासमा ब्रिटिस भेट्रान्सहरुलगायतले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विशाल प्रदर्शन गरेका हुन् ।
भुतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको दश दिनसम्म पनि बेलायत सरकारले कुनै पहल गरेको छैन ।
तर आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिक सबै एकजुट भएका छन् । ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाएकी छन् । भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । यसै गरी भूतपूर्व गोर्खा एवम् सफल आरोही निर्मल पुर्जा मगर ‘निम्स’ ले पनि एक भिडियो सन्देशमार्फत आफ्नो धारणा व्यक्त गरेका छन ।
शनिबार भएको प्रदर्शनीमा सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद् भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरूले एकै साथ ताली बजाएर धन्यवाद दिए । यसै गरी नेपाली संस्कृति र परम्परा झल्किने बाजागाजा तथा लाखे नाँचको समेत प्रदर्शन गरिएको थियो ।
यस्तै सत्याग्रहकै आव्हानमा आइतबार प्रधानमन्त्री कार्यालय अगाडि विशाल गरिएको प्रदर्शनीमा हजारौँको सङ्ख्यामा नेपाली तथा विदेशीहरूको भीड लागेको थियो । ब्रिटिस भेट्रान र नागरिकहरुको साथले हामीलाई थप ऊर्जा मिलेको छ’ गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने ।
गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले विगत १० दिनदेखि आमरण अनसनमा छन् । समानताको लडाइँमा आफूहरू मर्न तयार रहेको जनाउँदै उनीहरू भोक हडताल छाड्ने मनस्थितिमा छैनन् यद्यपि उनीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ ।