लण्डन – नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले पूर्व गोर्खाहरुको सम्मानमा एक गोष्ठीको आयोजना गरिरहेको छ । ७०औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना भइरहेको भर्चुअल कार्यक्रममा पूर्व गोर्खा र सेवारत गोर्खा सैनिकहरुलाई आमन्त्रण गरिएको कुरा एनपीसीसी यूकेका उपसभापति तथा एनपीसीसी यूके भूतपूर्व गोर्खा बिभागका प्रमुख तर्क जंग गुरुङले बताए ।
आगामी फेब्रुवरी २० मा हुने कार्यक्रमको विषय “विक्रम सम्वत २००७ सालको जनक्रान्ति र प्रजातन्त्रमा पूर्व गोर्खा सैनिकहरुको भूमिका” रहेको छ । जस अनुसार १०४-बर्षे जहानियाँ राणा शासनको समाप्तिका लागि थालिएको मुक्ति आन्दोलन, २००७ सालको सशस्त्र क्रान्तिमा पूर्व गोर्खा सैनिकहरुको युद्द मोर्चा, र उनीहरुले खेलेको निर्णायक भूमिकाको बारेमा खोजमुलक प्रस्तुतिहरु हुनेछन् ।
शनिवार बिहान ११ बजेदेखि १ बजेसम्मको लागि तय भएको छ भने कार्यक्रमको आयोजना एनपीसीसी यूकेको केण्ट क्षेत्रीय समितिले संयोजन गरिरहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य भिष्म राज आङ्देम्बे उपस्थित हुनेछन् ।
“यो कार्यक्रम २००७ सालको क्रान्तिका मुक्ति सेनाहरुप्रति समर्पित हो; वर्तमानमा देशविदेशमा रहेका ज्युँदा गोर्खाहरुप्रतिको सम्मान हो । नयाँ पुस्ताले इतिहास भुल्न लागे जस्तो अवस्थामा यस कार्यक्रमले हामीलाई इतिहासको स्मरण गराउनेछ र प्रजातन्त्र प्राप्तिका लागि पुर्खाहरुले गरेको योगदानको कदर गर्न सिकाउने छ,” केण्ट क्षेत्रीय समितिका सभापति किरण राईले नेपाल मामिलालाई भने । सभापति राई आफैं पनि पूर्व गोर्खा सैनिक हुन् ।
७०औं प्रजातन्त्र दिवस नेपालमा र विश्वभरि नेपालीहरुले मनाइरहँदा बेलायतमा पनि यस कार्यक्रमलाई सफल पारौं भन्दै नेपाली जनसम्पर्क समिति बेलायतका कार्यवाहक सभापति महेश कुमार दहालले पूर्व गोर्खाहरु, सेवारत गोर्खाहरु र बेलायतवासी नेपालीहरुलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।