काठमाडौं । पेसागत महासंघ नेपालको सातौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले नयाँ नेतृत्वमा चयन गर्दै २५ बुँदे समसामयिक प्रस्तावहरू समेत पारित गरेको छ ।
महाधिवेशनले श्रम सम्बन्धलाई सुमधुर बनाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग पुयाउने विषय पारित गरेको छ । श्रम शक्तिको वास्तविक अवस्थाको अध्ययन अनुसन्धान गर्न, श्रमिकहरूको पञ्जिकरण गर्न, ज्ञान, सीप, क्षमता र सशक्तीकरण अभिवृद्धि गर्न, कल्याणकारी कामका लागि नीति कार्यक्रम तय र कार्यक्रम सञ्चालन गरी श्रम बजारलाई मर्यादित बनाउन आर्थिक वर्ष २०७८÷७९को सरकारको नीति तथा कार्यक्रममा समावेश भएर पनि हालसम्म गठन हुन नसकेको राष्ट्रिय श्रम आयोग गठन तत्काल गर्न महाधिवेशनले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै श्रम ऐनमा रहेको हायर एण्ड फायर र नो वर्क नो पे नीतिका कारण श्रमिकहरुको रोजगारी कटौती भएको तथा ट्रेड युनियन गठन सञ्चालन र दर्तामा समस्या उत्पन्न भई विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि बढेकाले श्रम ऐन, ट्रेड युनियन ऐन, सामाजिक सुरक्षा ऐन तथा नियमावलीहरुमा यथाशीघ्र संशोधन गर्न माग गरिएको छ ।
‘समाजवादः सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन, गुणस्तर सेवा, सुशासन र एकीकृत तथा सुदृढ ट्रेड युनियन’ भन्ने मूल नाराका काठमाडौंमा बुधबार सम्पन्न दुईदिने महाधिवेशनले आगामी चार बर्षका लागि प्रेमल कुमार खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
महाधिवेशनले महासंघ नेपालको बरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्ष (महिला ( प्रभादेवी बज्राचार्य, उपाध्यक्षमा रामप्रसाद रिमाल, उपाध्यक्षमा (मधेशी) योगेन्द्र यादव, उपाध्यक्षमा किशोरकुमार नेपाली, उपाध्यक्षमा धरणीधर अधिकारी, उपाध्यक्षमा हिक्मतबहादुर बस्नेत, उपाध्यक्षमा हरिप्रसाद जोशी, उपाध्यक्षमा (जनजाती) शरणकुमार गुरुङ चयन गरेको छ ।
यस्तै समितिको महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, उपमहासचिवमा (महिला) सीताकुमारी ओझा, उपमहासचिवमा पूर्णबहादुर वुढा, उपमहासचिवमा रामकुमार महत, उपमहासचिवमा (मधेशी) विश्वनारायण मिश्र, सचिवमा (महिला) भवानी खड्का, सचिवमा विकास सिलवाल, सचिवमा रामप्रसाद आचार्य, कोषाध्यक्षमा ध्रुबप्रसाद पौडेल, सह–कोषाध्यक्षमा हरिदेव यादव निर्वाचित भएका छन् ।
महाधिवेशनले विभिन्न २५ बुँदे समसामयिक प्रस्तावहरु पनि पारित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
महाधिवेशनमा महासङ्घका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, विभिन्न मुलुकका विदेशी प्रतिनिधिहरु , २९ घटक युनियनहरु, ४० प्रतिष्ठानहरु तथा ७७ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
महाधिवेशनकोे बन्द सत्रमा महासचिव रामप्रसाद रिमालले साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष श्यामप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन र महासचिव रामप्रसाद रिमालले विधान संशोधन प्रस्ताव प्रस्तुत गरे । प्रतिवेदनहरु उपर सामुहिक छलफलका लागि प्रतिनिधिहरुलाई ९ वटा समूहमा विभाजन गरी व्यापक छलफल चलाइएको थियो । दोश्रो दिन ९ वटै समूहबाट प्राप्त सुझावहरु समेत समेट्ने गरी प्रतिवेदनहरु परित गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आम पेसाकर्मीहरुका हकहितमा काम गर्नेमा विश्वास ब्यक्त गरे ।
उनले संगठनले जारि गरेको २५ बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि सम्पुर्ण पेसाकर्मीहरुलाई संगै लैजान आग्रह गरे ।
श्रमजिवी जनताको हितमा काम गर्न आजको पुँजीवादले वाधा पुर्याइरहेको भन्दै उनले पेसागत संगठनहरुको आवाज सधै श्रमिक जनताको पक्षमा रहनुपर्नेमा जोड दिए ।