April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा रोजगारीका लागि नेपाली नर्स लैजान सम्झौता, तलब बेलायती नागरिक सरह

4K

काठमाडौं । बेलायतमा रोजगारीका लागि नेपाली नर्स लैजानको लागि दुइ देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। पाँच बर्ष रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

Advertisement

बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको छ। उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ। उनीहरुको तलब बेलायती नागरिकको सरह हुने भएको छ।

द्विपक्षीय श्रम सम्झौताका बुँदाहरु

१.स्वास्थ्यकर्मीको छनौट र पदस्थापन नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने ।
२.नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन.एच.एस.)मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।
३.विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने ।
४.नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।
५.परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने ।
६.नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।
७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।