काठमाडौं । अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् ।
गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् ।
अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भदौ १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिए । आज बिहान मात्रै दुई उडानमा क्रमशः २७ र ९ गरी ३६ नेपाली स्वदेश फर्किएका छन् । आज राति पनि केही सङ्ख्यामा नेपाली स्वदेश फर्किने उडान तालिका रहेको छ ।
स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानमार्फत आएका हुन् । अफगानिस्तानबाट काठमाडौँ आएका नेपालीलाई गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ ।
नेपाली सेनाले सामाखुसी र इचङ्गुनारायणमा होल्डिङ सेन्टर बनाएको छ । हालसम्म नेपाल फर्किएकालाई सामाखुसीको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको र आवश्यक परेमा मात्रै अर्को होल्डिङ सेन्टरमा लगिने नेपाली सेनाले जनाएको छ ।