काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा), झापाका नेता रेवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर भएकाे छ। झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निश्कर्षसहित विभागले विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे।
नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ। पुरीले सरकारी जग्गा हडपेको भन्दै उनीविरुद्ध १२ करोड १३ लाख ७२ हजार १७८.८६ रूपैयाँ विगाे दाबी गरिएकाे छ।
त्यस्तै, पुरीकी श्रीमती केशावतीले पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको आराेपपत्रमा उल्लेख छ। आफन्त मनमायाविरुद्ध ९९ लाख ४ हजार ७५०.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२.२२ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको निश्कर्ष निकाल्दै मुद्दा दायर गरिएको छ।
पुरीले उक्त जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गराएका थिए। पुरीविरुद्ध जग्गा किर्ते मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ।