विराटनगर । नवजात शिशु विक्री गरेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको अवैध सम्बन्धबाट असार १४ मा विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा शिशु जन्मिएकी शिशुलाई विक्री गरेको आरोपमा गत असोज २४ गते मोरङ जिल्ला अदालतले भने डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।
कर्णसहित तीनै जनाले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए । सोही निवेदनको आधारमा उनीहरुलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रृधरा कुमारी पुडासैनीको संयुक्त ईजालशले डाक्टर कर्ण र सूर्यनारायण राजवंशीलाई धरौटिमा छोड्न आदेश गरेको हो । राई र अन्यको हकमा भने जिल्लाको आदेशलाई नै उच्चले सदर गरेको छ ।
नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । ६ जनामध्ये पाँच लाखमा शिशु बिक्री गरेको खुलेकोले डाक्टर कर्ण, खरिद गर्ने राजवंशी र शिशुका बुबा गोविन्द राईसहित तीन जना पुर्पक्षको लागि थुनामा थिए । उनीहरुको सहयोगी तीन जना भने धरौटीमा रिहा भएका थिए । त्यसबेला मोरङ कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ कि ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका थिए ।