April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोविन्द लिम्बूको हत्याका मुख्य अभियुक्त सनम राईसहित तीनजना पक्राउ

1.3K

विराटनगर । इलामको चुलाचुली ३ का गोविन्द लिम्बूको हत्याका मुख्य अभियुक्त सनम राईसहित तीनजना पक्राउ परेका छन् । उनीहरूलाई सोमबार साँझ इलाका प्रहरी कार्यालय दमकले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

दमक ७ बस्ने २२ वर्षीय राईसहित अन्य अभियुक्त दमक १ बस्ने २२ वर्षीय आनन्द भनिने राजकुमार भुजेल र दमक ७ बस्ने १८ वर्षीय रेहान भनिने सवास आलमलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुलाई सोमबार दिउँसो साढे १ बजेको समयमा मोरङको उर्लाबारी १ उर्लाबारी–मधुमल्ला सडक खण्डमा पर्ने टप्पु टोलस्थित विप्लप तामाङको घर अगाडिबाट प्र. १–०१–०१२ प २९५३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक खगेन्द प्रसाद रिजालले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार आरोपीहरूले गत असोज १२ गते बिहान अन्दाजी ४ बजेको समयमा दमक १ स्थित कुमाल चोकमा रहेको विशाल कुमालले सञ्चालन गरेको रुबेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ३८ वर्षीय लिम्बूको घाँटी, पाखुरा र हातमा छुरा प्रहार गरि हत्या गरेका थिए । एउटै समूहमा मादक पदार्थ सेवन गरेर बसेको समयमा सामान्य विवाद हुँदा राईले मृतक लिम्बूमाथि छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

हत्यापछि फरार रहेका तीन जनलाई खोजतलास र पक्राउ गर्न इलाका प्रहरी कार्यलय दमकबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा, कोशी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक रुद्र खड्काको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत विशेष टोली खटाइएको थियो ।

घटना लगत्तै प्रहरीले दमक वडा नम्बर १ पाङ्मी चोक बस्ने नामुद थेबे, दमक १ फाल्गुनन्द चोकका आकाश केरुङ, दमक ७ पशुहाटका राहुल श्रेष्ठ, मोरङ कानेपोखरी ७ का सलमान लिम्बू, इलाम चुलाचुली ४ का सन्दिप राई, चुलाचुली ३ का सूर्य केरुङ, उपेन्द्र राई र होटल सञ्चलक कुमाल समेतलाई नियन्त्रणमा लिएर १२ गते नै जिल्ला अदालतबाट ८ दिनका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै प्रहरीले हत्या गर्न प्रयोग गरिएको छुरा मोरङको विराटनगर महानगरपालिका ९ को सन्सारी मन्दिर भन्दा दक्षिण शिक्षादिप कलेजको पार्किङ छेउबाट बरामत गरेको जनाएको छ । मुख्य अभियुक्त राईले विराटनगर ६ का मफुद मियालाई हत्यामा प्रयोग भएको छुरा लुकाउन दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।