विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका भाइ माथि खुकुरी प्रहार भएको छ । मङ्गलवार सूर्य बस्तीका १५ देखि २० जनाको समूह आएका युवाहरूले उपमेयरका कान्छ भाइ विष्णु बेघालाई खुकुरी प्रहार गरेको हो ।
आज साँझ ५ बजे धरान-१५ खोरिया बास्तिमा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेको उपमेयर बेघाले बताए । घटना आज साँझ ५ बजे तिरको हो । केटाहरूको समूहले घरमा ढुङ्गा मुढा समेत गरेको बेघाकी आमा दिल कुमारी बेघाले जानकारी दिइन् । उनका अनुसार घरमा कोही नभएको समयमा घर भित्रै पसी छोरामाथि खुकुरी प्रहार भएको हो ।
स्थानीयका अनुसार सूर्य बस्तीका एक हुल केटाहरूले कट्टी लिएर बेघालाई खेदाए थिए । उनको देब्रे पट्टिको गालामा खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताए ।
घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उपमेयर बेघाले घरमा घटना हुने बित्तिकै इलाका प्रहरी कार्यालयका डिएसपी मल्ललाई जानकारी गराए पनि प्रहरी भने घटना घटेको ३० मिनेट पछि आएको घटना स्थलमा आइपुगेको बेघाले बताए ।