November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

निरा पाण्डेको हत्यारा पक्राउ नगरेको भन्दै व्यवसायीहरुको प्रदर्शन

2.2K

काठमाडौं । निरा पाण्डे आचार्यको हत्या भएको ४ दिन बितिसक्दा पनि हत्यारा पक्राउ नगरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन् । कपनको सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालक आचार्यको हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न माग गर्दै बौद्धका व्यवसायीहरुले सोमबार कपनमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘व्यापारीलाई सुरक्षा दे, गुण्डागर्दी अन्त्य गर’, ‘हत्यारालाई सार्वजनिक गर’, ‘सरकार किन मौन छ, हाम्रो सुरक्षा कहाँ छ ?’ जस्ता नारा लगाउदै प्रहरीविरुद्ध नारा लगाएका थिए ।

बिहीबार अपराह्न पाण्डेको छुरा प्रहार गरेर पसलभित्रै हत्या भएको थियो । प्रहरीका अनुसार उनको शरीरमा कम्तिमा १५÷२० पटक छुरा प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

Advertisement

प्रहरीले प्राविधिक र म्यानुअल दुवै तरिकाले घटनाको अनुसन्धान गरिरहेको प्रहरी बताउँछन् । उपलब्ध सीसी क्यामराका फुटेज लगायतका आधारमा अनुसन्धान भइरहेको र छिट्टै नतिजा दिने गरी काम गर्ने प्रहरीले आश्वासन दिएको छ ।

व्यवसायीहरले भने प्रहरीले हालसम्म अनुसन्धानमा भइरहेको प्रगति सार्वजनिक नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार पाण्डेले लगाएको सिक्री गायब छ । त्यसैले घटनाको कारण लुटपाट हो कि भन्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर, पोष्टमार्टमको प्रारम्भिक जाँचबाट उनको वीभत्स तरिकाले हत्या भएको देखिएकाले कुनै रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
घटनाको जिल्ला प्रहरी परिसर, काठमाडौंसहित उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले पनि अनुसन्धान गरिरहेको छ ।