November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धनगढी जुगेडा प्रहरी हत्याकाण्डका नौ जनालाई जन्मकैदको फैसला

२०७८ कार्तिक १०

2.6K

धनगढी । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न नौ जनालाई जिल्ला आदलतले जन्मकैदको फैसला सुनाइएको छ ।

कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।

गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो । उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

Advertisement

सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ ।