November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विप्लव नेतृत्वका गतिविधि आक्रमक बन्दै

2.2K

मोरङ – मोरङको पहाडी गाउँ मिक्लाजुङमा मंगलबार बिहान विप्लव समूहले एक निहत्था शिक्षकको घाँटी रेटेर हत्या गर्‍यो । विगतमा शिक्षक मुक्तिनाथ अधिकारीकै झल्को आउनेगरी गरिएको यो हत्याको जिम्मेवारीसमेत विप्लव समूहले लिएको छ । यो घटनासँगै अब विप्लव समूह ‘व्यक्तिहत्याको राजनीति’तर्फ लागेको संकेत देखिएको सुरक्षा निकायको विश्लेषण छ ।

नख्खुमा भएको एनसेल बम प्रकरण र वर्षको सुरुवातमा भएका श्रृंखलावद्ध ‘आत्मघाती’ विष्फोटमा चारजना सैन्य कार्यकर्ता मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह रक्षात्मक स्थितिमा पुगेको थियो । त्यसयता भ्रष्टाचार र विभिन्न प्रकरणमा आलोचित व्यक्ति र संस्थालाई ‘कारबाही’ गरेको देखाएर उपस्थिति जनाउने रणनीति प्रतिवन्धित विप्लव समूहले लिँदै आएको थियो ।

तर, मिक्लाजुङको घटनाले अब उसको निशानामा सर्वसाधारण नागरिकहरुसमेत पर्न थालेको संकेत दिएको सुरक्षा निकायको विश्लेषण छ । र, यो घटनासँगै सुरक्षा संयन्त्र एकपटक फेरि झस्किएको छ ।

Advertisement

आफूविरुद्ध सुराकी गरी नेतालाई पक्राएको हुनाले मिक्लाजुङ प्रकरण भएको भन्दै विप्लव समूहले मंगलबार नै शिक्षक हत्याको जिम्मेवारी लिएको छ । सो समूहको मेची–कोशी ब्युरो इञ्चार्ज प्रतापको हस्ताक्षर भएको विज्ञप्तिमा सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको दाबी गरिएको छ ।

तर, विप्लव समूहले सुराकीको आरोप लगाउँदै प्रतिकारमा मारिएको बताए पनि शिक्षक श्रेष्ठलाई घरैबाट अपहरण गरेर जंंगलमा लगी घाँटी रेटेर हत्या गरिएको स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीले बताएका छन् ।

प्रदेश नं. १ का एकजना उच्च प्रहरी अधिकृतका अनुसार श्रेष्ठले समूहविरुद्ध सुराकी गरेकाले तह लगाएको भन्दै समूहका एकजना नेताले दिउँसै प्रहरीसमक्ष सन्देश पठाइसकेका थिए । घटनामा विप्लव समूहको संलग्नता देखिनुले प्रतिबन्धित पार्टीले आफ्नो गतिविधिलाई अर्को चरणमा लैजान खोजेको संकेत मिलेको सुरक्षा सम्वद्ध अधिकृतहरुको विश्लेषण छ ।

एकीकृत जनक्रान्तिलाई अघि बढाएको बताउने विप्लव समूहका नेताहरूले अबको क्रान्ति जनता माँझबाट हुने बताउँदै आएका थिए । विगतमा जस्तो हत्या, हिंसा र रक्तपातबाट नभइ, जनताको बीचबाट अबको क्रान्ति हुने उनीहरूको तर्क थियो।

हालसम्म भएका घटनामा रक्षात्मक अवस्था र प्रतिकारका क्रममा ‘दुर्घटना’ भएको समूहले बताउने गरेको थियो । व्यक्ति हत्या गर्ने तहसम्म समूह पुगेको थिएन ।भलै, भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेमा २५ असार ०७६ मा प्रहरी जवान सञ्जिव राई विप्लव समूहसँगको जम्काभेटमा मारिएका थिए । त्यसवेला समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा भएको दोहोरो झडप भएको पाइएको थियो ।

मंगलबारको घटना चाहिँ फरक प्रकृतिको भएको अधिकृतहरुको विश्लेषण छ । विप्लव समूह आफूविरुद्ध सुराकी गरेको नाममा आम नागरिक वा प्रहरीलाई हत्या गर्ने चरणमा अघि बढेको यो घटनाबाट देखिएको अधिकृतहरू बताउँछन् ।