November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मोरङ शिक्षक हत्या प्रकरणः ‘बिहान घरबाट लगेको सुनेका थियौं, हत्या नै गरिसकेछन्’

3K

मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको छ। ५४ वर्षीय उनको शव मिक्लाजुङ गाउँपालिका-१ बर्खेको जंगलमा भेटिएको हो। 

उनको शव टाउकोमा गोली हानी हत्या गरिएको अवस्थामा मंगलबार विहान भेटिएको हो। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हत्या गरेको बताएका छन्। 

उनको शव भेटिएको स्थान घरदेखि करिब एक किलोमिटरको दूरीस्थित जंगलमा छ। मंगलबार बिहान सवा ६ बजेतिर ४-५ जनाको संख्यामा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले श्रेष्ठलाई घरबाट लिएर गएको सूचना आएको एसपी खड्काले बताए। 

Advertisement

कसले हत्या गर्‍यो थाहा भएन : उपाध्यक्ष राई

यता मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राईले शिक्षक श्रेष्ठलाई विप्लवका कार्यकर्ताले घरबाट लगेको जानकारी आफूलाई आएको बताएकी छन्। ‘हेड सरलाई बिहानै घरबाट चार-पाँचजनाले लगेको खबर आएको थियो’, उनले भनिन्, ‘तर केही घण्टामै उनको हत्या नै भएको छ। प्रहरीले विप्लव समूहबाट हत्या भएको भनिएको छ। तर हामीलाई यसबारे तथ्य कुरा आएको छैन।’

प्रधानाध्यापक श्रेष्ठको हत्याको कारण खुल्न नसकेको उनले बताएकी छन्। ‘आधिकारिक रुपमा विप्लवले घटनाको जिम्मा लिएको थाहा छैन। अहिले अध्यक्ष पनि घटनास्थलमा जानु भएको छ’, उनले थपिन्, ‘एक नम्बर वडाको घटना हो, जुन ठाउँ अति नै विकट छ। त्यहाँ प्रहरी पुग्‍न पनि कठिन छ।’

उनका अनुसार गाउँलेले विप्लव समूहबाटै हत्या गरेको खबर आएको बताइन् ।