April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

शिक्षक हत्या प्रकरण: विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान

२०७७ फाल्गुन ११

3.5K

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् । शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव विप्लव पनि छन् । शिक्षक श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट हतियारसहित पक्राउ गरेको थियो । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद भएको थियो ।

Advertisement

हतियार भेटिएपछि सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हातहतियार खरखजाना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो । हातहतियार खरखजाना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । दोस्रो मुद्दामा पनि थुनामै राख्ने आदेश भएको हो ।

शिक्षक हत्या प्रकरणमा घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । तीमध्ये ३५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।