April 24, 2026, Friday
२०८३ बैशाख ११
1:37:26 pm

युद्ध साहित्य पुरस्कार भीम विरहीको ‘बारुदले कोरेका अक्षरहरुलाई’ समर्पण

यस वर्षको युद्ध साहित्य पुरस्कार धरानका पूर्व भारतीय गोर्खा सैनिक कवि भीम विरही राईको कविता कृति ‘युद्धमा कोरेका अक्षरहरू’लाई समर्पण गरिएको छ ।

शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरी युद्ध साहित्य पुरस्कार कोषले उक्त पुरस्कार समर्पण गरेको हो ।

कवि भीम विरही राई र उनका जीवनसाथी सुना बान्तावा राईलाई संयुक्त दोसल्ला सम्म्मान पत्र र नगद ५० हजार पचास कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मा, विशेष अतिथि देवान किराँती र सभाध्यक्ष काङमाङ नरेश राईले संयुक्त रुपमा सो पुरस्कार समर्पण गरेका हुन्।

Advertisement

पुरस्कृत कविता कृति ‘बारुदले कोरेका अक्षरहरू’ माथि कवि तथा पत्रकार जनकऋषि राई र कवि तथा समालोचक डा. अस्मिता विष्टले धारणा राखेका थिए ।

पुरस्कृत कवि भीम विरही राईले यो पुरस्कारले आफूलाई जिम्मेवारी थपिएको बताए । उनले थपे, ‘कविता भन्दा पनि आफ्नो सैनिक जीवनमा भोगेको कुराहरु हो यो । यो पुरस्कार ग्रहण गर्दैगर्दा म मेरा बन्दुके सहकर्मीहरुलाई सम्झन्छु । सँगसँगै लडाइँका क्रममा ज्यान गुमाउने मेरा सहकर्मी योद्धाहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आज यो पुरस्कार थाप्दै गर्दा हामीले लडेको युद्धले न्याय पाएको महसुस गरेको छु । पुरस्कार कोषप्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु।’

कार्यक्रममा आफ्नो आफ्नो मन्तव्य राख्दै विशेष अतिथि देवान किरातीले भीम विरहीको कविता बाङ्गोटिङ्गो नभइ बन्दुकको गोली जस्तै सिधा रहेको बताए । उनले अब युद्ध साहित्यकारहरुले युद्धका उपलब्धि पनि लेख्नुपर्ने बताए ।

यस्तै, प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्माले युद्ध सकिए मानवको मनोविज्ञान सकिने धारणा राखे । उनले भने, ‘पृथ्वीको मानक नै युद्ध हो कि जस्तो लाग्न थालेको छ । युद्ध साहित्यकारहरुले कविता मार्फत युद्धको अनुभूति दिलाइरहनु भएको छ । अहिलेको जताततै भइरहेको युद्धलाई कम गर्न पनि युद्ध साहित्य लेख्नुपर्छ भन्ने मनोविज्ञान स्थापित भइरहेको छ।’

हरेक वर्ष प्रदान गरिने युद्ध साहित्य पुरस्कार यस अघि केदार सङ्केतको ‘अफ्गान रणमैदान’लाई प्रदान गरिसकिएको छ ।

कार्यक्रमलाई कवि अमित थेबेले सहजीकरण गरेका थिए भने कार्यक्रमका सभाध्यक्ष पुरस्कार कोषका संस्थापक कवि काङमाङ नरेश राई रहेका थिए ।