July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

गाउँ आएको बाटोः बिना प्रश्नचिन्हको प्रश्न

भूपाल राई
२०८१ जेष्ठ ३०

2.9K

चलचित्र ’गाउँ आएको बाटो’ हेर्ने समय बडो मुस्किलले जुर्यो भनूँ । चलचित्रमा जोडिएको गीतकारको हैसियतले पनि नहेरी नहुने दबाब थियो मसँग, सो बल्लतल्ल जुर्न पुग्यो ।

चलचित्रले भनिरहेको कथ्यमा केही इथिक्सका जब्बर कुराहरु छन् जुन सामान्य दृष्टिमा नबुझ्न सकिन्छ । बिना कुनै प्रश्न, बिना उत्तर केवल बिम्बमा या दृश्यभाषामा बोलिएको कथ्य बुझ्न अलिक फरक दृष्टि आवश्यक पर्छ । त्यहाँ दृश्यित समाजको इथिक्स, पुँजीवादी बजारको इथिक्स, राज्यव्यवस्था र अर्थ राजनीति, आदिआदि बोलिने भाषाभन्दा पर गएर खोज्नुपर्छ । र, गजबको कुरा त यो छकि यी सब कुरा एउटा पनि प्रश्नचिन्ह प्रयोग नगरी दर्जनौँ प्रश्न खडा गर्न सफल छ चलचित्र । यो नै गाउँ आएको बाटोको कथावाचन गर्ने खास शैली हो । र, यो नै चलचित्रको पहिलो सफलता हो ।

किरात राई जातिको परम्परागत शिल्प, ज्ञानप्रणाली र विश्वासपद्धतिको धागोमा उनेर निर्माण गरिएको यसले नेपाली चलचित्र निर्माणको पुरानो मानक त भत्काएको छ नै, साथसाथै नेपाल भन्ने देशको काल्पनीकिलाई पनि उत्खनन गरेको छ । नेपाल भन्ने देशको जुन काल्पनीकि छ, त्यसको आधार सर्त के हो ? सीमाना ? भूगोल ? राष्ट्रिय चिन्ह ? या राष्ट्र (जनता) ? यस विषयमा चलचित्रले कुनै प्रश्नचिन्ह बिना नै प्रश्न गरेको छ । र, कुनै शब्द बिना नै उत्तर दिएको छ ।

Advertisement

दोस्रो, वर्तमान समयमा देखा परिरहेको विकासे प्रहेलिका नै चलचित्रको खास विषय हो । आजभन्दा चालिस, पचास वर्ष अगाडि नै यूनिसेफले ’विकासको चौँथो पिलर संस्कृति हो,’ भनेर भनिसकेको छ । अर्थात्, संस्कृतिमैत्री विकासमात्रै दिगो र चिरस्थायी हुन्छ भन्ने हो । हामीकहाँ विकासे डोजरको बारेमा प्रशस्त चर्चा, परिचर्चा भए पनि त्यसले गर्ने प्रतिस्थापन र विस्थापनको पाटो पुरै अछुतो छ । एकपक्षीय विकासे बाटोको अन्धानुकरणले रैथाने सीप, ज्ञान, परम्परा र राई माइलाको विस्थापन हुन पुगेको हो भन्ने विषयमा चिन्तन गर्न ढिलो भैसकेको छ । यसै विषयमाथि बडो सुक्ष्म र मिहिन ढङ्गले संवाद गरेको छ चलचित्रले । र , नेपाली चलचित्र जगतमा यो पहिलोपटक भएको छ ।

निर्देशक नवीन सुब्बाको बारेमा धेरै बोल्नै पर्दैन । उनी नेपाली चलचित्र क्षेत्रका एक ट्रेन्डसेटर हुन् ्र दयाहाङ र पशुपति राईले चरित्रनिर्माण र चरित्र आत्मसातीकरणमा अतिरिक्त श्रम गरेको प्रष्टै छ । अचम्म त यो छकि चलचित्र जगतभन्दा नितान्त पर एक कोरा र कच्चा पात्र बालक बिन्द्रे (प्रसन)बाट जुन कोटिको पर्फर्मेन्स देखिन्छ, त्यसले दर्शकलाई आत्ममुग्ध बनाउँछ । उभित्र लुकेर रहेको अभिनय कला र प्रतिभालाई उत्खनन गर्ने क्षमता एक निर्देशकको हैसियतमा नवीन सुब्बामा नै रहेछ भन्ने कुरा पनि प्रष्ट हुन्छ । यस्तो मौलिक कथाका लेखक महेश राई बधाईका पात्र छन् ।

चलचित्रको अन्तिममा गुन्जिने ’आलाङ्ने ! आलाङ्ने !’ गीतको बारेमा बच्चु हिमांशुले आफ्नो सामाजिक संजालमार्फत गरेको व्याख्याले नेपाली चलचित्र निर्माणपद्दतिको अर्को ढोका ढकढक्याएको छ भन्ने बुझ्नुपर्छ ।

अन्त्यमा, किरात राई जातिको सांस्कृतिक धागोमा उनिएको यो साझा र सार्विक कथ्यको माला हो । त्यसैले यो राईहरुको मात्र कथा हैन । एउटा सार्विक कथा भन्नलाई किरात राईहरुको सांस्कृतिक टुल्सलाई माध्यमको रुपमा प्रयोग गरिएकोमात्र हो । यो विकासको भाष्यले थिलथिलो पारेको विश्वजनिन कथा हो ।