April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बाबु, दाजु, छोरा मराएर शासन हात पार्ने जुक्ति

रामचन्द्र राई रूपाबुङ
२०८० श्रावण २३

4.4K

नागरिकको पहिचान
नेपाल बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक मुलुक हो भनेर स्वीकृत र स्थापित तथ्य हो । जात जाति वा वंशानुगत कोषिका (डिएनए), अनुहार, रङ्गजस्ता पहिचान मानिसले जन्मदै लिएर आएको हुन्छ । धर्म, भाषा, संस्कृति, परम्परा, रीतिथिति आदिका पहिचान मानिसले जन्मदा लिएर आउने नभएर पछिबाट समाजले सिकाएको भावनासँग गासिएको पहिचान मात्र हो । राज्य साध्य होइन र साधन मात्र हो । साध्यचाहिँ मानिस हो, जनता नै हो । त्यसले पहिचानलाई मानिसको हक अधिकार सुनिश्चित गर्ने महत्वुपर्ण कडीको रूपमा लिनुपर्छ । राज्यले सबै जातजाति, धर्म, भाषाभाषी, संस्कारको अस्तित्व, पहिचान र स्वतन्त्रतालाई मान्यता दिनुपर्छ । उचित सम्मान, सम्बोधन, प्रतिनिधित्व र हैसियत प्रदान गर्नुपर्छ । निरंकुशता र लोकतन्त्रभित्रको विभेदविरुद्ध उठेको मुद्दाले घरेलु र विश्व राजनीतिलाई पनि प्रभावित पार्छ, पारी रहन्छ । संक्रमणकालिन राजनीतिमा सबभन्दा पहिला उठ्ने विषय पहिचान हो । नेपालमा पनि अहिले पहिचानको कुरा उठेको छ र यसबेला आम नागरिकले र मुलुकले सहि समाधान खोजी राखेको छ ।

जनजातिहरूले हामी धरतीपुत्र आदिवासी, भूमिपुत्र हौं भनिरहँदा गोठाला घुमन्तेहरूले हामी पनि यहींको मूलवासी हौं नेपाल बाहेक हाम्रो अन्यत्र कतै उत्पत्ति स्थल छैन भनेर दावी लिंदै के कुराले धरतीपुत्र वा भूमिपुत्र हुन्छ बनाउँछ हँ ? (जगदिश घिमिरे, अन्तर्मनको यात्रा) भनेर प्रश्न उठाएको पनि सुनिन्छ । अँ धरतीपुत्र वा भूमिपुत्र हुनलाई धेरै कुरा चाहिन्छ भन्छु । आज फोस्रो दाबी लिंदैमा त्यो मान सम्मान पाइदैन । मान सम्मान र सुख सुबिधा यो मुलुकमा पाइन्छ कि उ मुलुकमा पाइन्छ भन्दै स्वार्थै स्वार्थको लागि घुम्दै चाहार्दै हिंडेर धरतीपुत्र भईंदैन । धरतीपुत्र वा भूमिपुत्र कहलिन मरुभूमि होस कि झोर जंगल होस; गन्ठ्याङ्गगुन्ठुङ्ग भिरालो पहाड पर्वत होस कि हिंवै हिउँले सेताम्मे ढाकेको हिमवत प्रदेश होस् निस्वार्थ भावले माता सम्झेर कुर्नुपर्छ, सेवा गर्नुपर्छ । धरतीपुत्र वा भूमिपुत्र हुनलाई ढुङ्गा माटोले चिन्नु पर्छ । खोलानालाले गाउने गीतको भाव र भाकामा गुन्जिुन पर्छ । रुख बिरुवा लगायतका बनस्पतिले पनि पहिचान गर्न सक्नुपर्छ । गुफा, कुनाकन्दरा, छाँगाछहरा, भीरपहरा, पहाडपर्वत आदिले कण कण नाता गाँसेको हुनुपर्छ । धरतीको छातिमा उनीहरूको संस्कृति, भाषा कुँदिएको हुनुपर्छ । अनि धरतीपुत्र वा भूमिपुत्र भइन्छ । यि कुरा केहीले नचिन्नेहरू कसैले हामी पनि धरतीपुत्र वा भूमिपुत्र हौं भनि दाबी लिंदैमा धरतीपुत्र वा भूमिपुत्र भइदैन । जनजातिहरूको पक्षमा यस्ता एक होइन अनेक, एउटा होइन हजारौं प्रमाणहरू छन् जसले उनीहरू नेपालको धरतीपुत्र वा भूमिपुत्र हुन् भन्ने कुराको दरो प्रमाण प्रस्तुत गर्दछ ।

नेपालको जन्मदाता किरातहरू थिए र मानव सभ्यताको प्रसबकालमा उनीहरूले काठमाण्डौ उपत्यकामा प्राचीन र मध्यकालीन नेपाली संस्कृति र धार्मिक इतिहासको न्यास राखेका थिए भन्ने कुरामाथि आठौं अध्यायमा नै लेखियो । यसैले कुनै समय सम्पूर्ण नेपाल जनजातिहरूले आवाद प्रदेश वा भूमि थियो भनिएको र उनीहरूलाई धरतीपुत्र, भूमिपुत्र भनिएको हो । यो समयसम्म जीवन बाँच्दै आउँदा जनजातिहरूले नेपालको धरतीपुत्र वा भूमिपुत्रको दाबी गर्दै आएको हो । फेरी धरतीपुत्र वा भूमिपुत्रको दाबी गर्नुको अर्थ आप्रवासीहरूलाई यो मुलुकमा बस्ने अधिकार छैन, यहाँबाट खेद्नु पर्छ भन्ने होइन । जनजातिहरूले धरतीपुत्र वा भूमिपुत्र एउटा विशेषणयुक्त नामले परिचितसम्म हुन खोजेका हुन् । अमेरिकामा घुमन्तेहरूले नै आदिवासी रेडइन्डियनहरूलाई नेटिब्स नामले सम्बोधन गर्दछन् । त्यो नेटिब्स शब्दले धरतीपुत्र वा भूमिपुत्र भन्ने नै जनाउँछ । धरतीपुत्र, भूमिपुत्र नामाकरणसंग कसैले आत्तिुन पर्ने, डराउनु पर्ने कारण म देख्दिनँ ।

Advertisement

कुरा के भने स्वघोषित विद्धत ठूलो जातका हौं भन्ने राज्य सत्ताधिकारीहरूबाट धरतीपुत्र वा भूमिपुत्रहरू बिगतमा जातीय, क्षत्रीय, धार्मिक, भाषिक, संस्कृतिक, लैङ्गिक विभेदमा पारियो, बहिष्करण गरियो भन्ने हो । यो कहिं कतैबाट लुके छुपेको छैन । यिनै कुराहरू आज उठे उठाइएका छन् । विभेदमा पारिएकाहरू ठालुहरूको हैकम भत्काउने क्रममा छन् । तर विभेदमा पार्नेहरू त्यसलाई अझ मजबुत बनाउने प्रयासमा छन् । तिनै टाठाबाठाहरूले नै गणतन्त्रबाट पनि र मुलुकको संक्रमणबाट पनि फाइदा लिइरहेका छन् । नेपालबाट वंशानुगत सामन्ति राजतन्त्र त समाप्त पारियो तर लोकतान्त्रिक गणतन्त्रमा जनताको नाममा आफ्नो हुँदो मात्र निर्णय गर्ने नयाँ राजा महाराजाहरूको उदय भयो । अघि एउटा राजा थियो अहिले सयकडौं राजा महाराजा भए । भई राख्नु पर्छ भन्ने उनीहरूको कुनियत छ । अहिले मुलुकको हितकारी संविधान नबन्ने मूल कारक तत्व पनि यही हो । यो मुलुकको परिवेशसँग विसंगत खेला हो ।

०६४ को निर्बाचन पछि नेपाली जनता संविधानसभा मार्फत संविधान निर्माण गर्न गइरहेका थिए । बन्ने संविधान नेपाली नागरिकको लागि त हुँदै हो तर त्यो नेपाल र नेपालीहरूको लागि मात्र होइन एउटा उत्कृष्ट संविधान बन्दा विश्वको लागि हुने थियो । अनुकरणीय, उदाहरणीय हुने थियो । बुध्द यही भूमिमा जन्मेका थिए । नेपाल नै यस्तो भूमि हो जसले विश्वलाई आश्चर्यचकित बनाउने बुध्द जस्ता सन्तान पनि कुनै समय नेपालले जन्माएको थियो । बुध्दले मानव जीवन कसरी सार्थक हुन्छ भन्ने खोजमा दरबारको सुखसयल राजपाट समेत त्यागेका थिए । तर बुध्दको सन्देशहरूलाइ मनन गर्न नसकेर बौध्दिक जातका हौं भन्नेहरू सुखसयलकै लागि युध्दको बाटो अपनाई रहेका छन् । आश्चर्य लाग्छ ।

संविधानसभाले बनाउने संविधान पछाडी परे पारिएका जनताहरूको लागि स्वतन्त्रताको संग्राम थियो । सार्वभौमिक जनता र सरकारको अधिकार विभाजनको दस्तावेज बनाउने; भोलिका सन्ततिले अधिकारयुक्त भएर बाँच्ने; उत्पीडनमा पार्ने विरुद्धको माखे साङ्लो चुँडाउने कुराको स्पष्ट परिभाषा गर्ने विभाजन रेखा कोर्ने दस्तावेज बनाउने संग्राम थियो । जातिवादमा चलेको परम्परागत शासन ब्यवस्थालाई ढालेर मानवीयताको आधारमा चलाउने नयाँ शासन ब्यवस्था स्थापना गर्ने संग्राम पनि थियो । वर्तमानको असत्य, अन्यायसँग मुक्ति पाउने, मुलुक अगाडि बढोस्, पछाडी परेको जनता अघि बढोस्, त्यसको लागि संविधान बनोस् भनेर दस्तावेज तयार गर्ने, सबैले आ–आफ्नो युगको रणभूमिमा लड्नु पर्ने संग्राम थियो । जनताको मुक्तिको लागि नै फ्रान्समा ठूलो रक्तपात भयो । ६÷६ महिनामा दस्तावेज बन्यो, च्यातियो, फेरि बन्यो । संविधानसभाले बनाउने संविधान केवल अक्षरहरू छापिएको कुनै एउटा कागजको खोस्टा मात्र छापेर प्रकाशन गर्ने कुरा थिएन । मानव जीवनले अनेक आरोह अवरोहहरू पार गर्दै जाँदा जीवनरूपी महासागर मन्थन गरी अमृत निकालेर रामराज्य स्थापना गर्ने दस्तावेज तयार गर्ने कुरा थियो । मानवीय तत्वले भरिएको, सत्य र न्याय स्थापना गर्ने एउटा संविधान बनाउने कुरा थियो । संझौताबाट पनि जीवन बाँच्ने आधारका धेरै कुराहरू परिबर्तन गर्न र ब्यवस्थित गर्न, जनता र मुलुकको भविष्य निर्माण गर्न सकिन्थ्यो । सो नगर्ने संविधान नेपाली जनताले चाहेका पनि होइनन् । बन्यो भने समर्थन गर्ने पनि छैनन् र लागु हुन सक्ने अवस्था पनि हुँदैन । बनी नै सक्यो लागु कसरी गरिन्छ हेर्न बाँकी नै छ ।

नेपाली जनतालाई थिचोमिचो र शोषण दमन गर्न पर टाढाका साम्राज्यवादी शक्ति नै किन चाहियो र ! मुलुक भित्रकै आफ्नो आफ्नो भन्दै पराया ब्यवहार गर्ने आफूले आफैलाई विद्धत हौं, सर्वश्रेष्ठ उच्च जातका हौं भन्नेहरू नै काफी छन् । तिनीहरूले नै साम्राज्यवादीहरू भन्दा बढ्ता शोषण दमन गरेका छन् । मुलुकलाई बिर्ता खेत जस्तो बनाएका छन् । तर मुलुक एउटा जातिको मात्र बिर्ता नभइ सबै जनताको लागि गरी खाने एक चोक्टा बारी र एक फोक्टा खेत होस भन्ने बन्दोबस्तीको दस्तावेज बनाउने संग्राम थियो । त्यसको लागि सबैले काँधमा काँध मिलाएर सबैको हितकारी संविधान बनाउन पहल गर्नु पथ्र्यो । हाम्रो देशमा पनि ज्यानको बाजी लाएर बिरोधको स्वर उराल्ने नेल्सन मण्डेलाहरू जन्मिनु पथ्र्यो । अझ भन्नु पर्दा हाम्रो देशमा जार र चाङकाईसेक जस्ताहरूको शासन रहेकाले यो देशमा लेनिन र माओत्सेतुङहरू जन्मिनु पथ्र्यो म भन्छु । तर “म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” भने झैं भएको छ । यही दुःख लाग्छ । विडम्बना यही छ ।

विदेशी साम्राज्यवादी शक्तिसंग लड्न सजिलो पर्ने रहेछ । किन कि त्यसको विरुद्ध सारा मुलुकवासी सबै एकजुट बनाउन सजिलो पर्ने र सकिने रहेछ । तर स्वदेशी सामन्त, महासामन्त शक्तिलाई हटाउन अत्यन्तै कठिन रहेछ । किन कि त्यस्को विरुद्ध मुलुकवासी पनि बिभाजित हुने रहेछ । अझ घरभित्रका आफ्नै कसैलाई अरुले समातेर छुस्की लाउन थाल्यो र उ उचालियो भने त्यतिबेला नौ रेक्टर स्केलको भुइचालोले घर के हल्लाउँछ ? आफ्नो घरकै कम्पनले बढी हल्लाउँछ । परिबर्तन चाहने जाति, क्षत्र, भाषा भाषि भित्रबाटै खलनायकहरू पनि जन्मिने रहेछन् । स्वदेशी सामन्त, महासामन्तहरूकै चाटुकार, भरिया, ढाकरे र दासहरू जन्मिने गर्छन् । आफ्नै घर भित्रकाहरू शत्रु बन्ने गर्छन् । अझ धर्म संस्कार जस्तो कुरा जो जीवन पध्दतिको रूपमा मानव जीवनको गहिराई गहिराईसम्म जरा गाडिएको हुन्छ त्यो पध्दतिको कुराबाट मान्छेको डेग नै नचल्ने रहेछ । मान्छे बरु लाख यातना सहन तयार हुन्छन् तर परिबर्तन गर्न तयार नहुने रहेछ । घर भित्रकै स्वजातिय खलनायकहरूले घर तहसनहस बनाउने रहेछ । आफ्नो धर्म, भाषा, संस्कार र गाउँ ठाउँलाई आफ्नो सम्झँदैन खलनायकी क्रियाकलाप देखाउँछन् भने कसरी त्यो धर्म भाषा, संस्कार, जातिको र गाउँ ठाउँको विकास हुन्छ ?

घर झगडा मिलाउन समय लाग्ला त्यो कुरा बेग्लै हो । मिलाउने समय आएको थियो । त्यो समय पनि समात्न सकिएन । त्यसले म भन्छु मुलुकमा यथास्थितिवादबाट परिबर्तन गर्न सजिलो रहेनछ । मातृभूमिमै नागरिकहरूले मुलुकवासीहरूबाटै दुःख सास्ती सासना, पीडा भोग्नु पर्छ भनेर कसले सोच्छ र ? हो कुनै मन्चमा बोल्दा उनीहरूको बोली भाषणमा गुलियोपना र आत्मीयता भन्दा केही हुँदैन । तर ब्यवहारमा भने कठोर भन्दा कठोर छन्, हुन्छन् । भित्र भित्रै छुरा धसी रहन्छन् । जनताहरू उपर अहिले पनि गर्ने उनीहरूको ब्यवहारले देखाई रहेकै छ । संविधान, ऐन कानुन निर्माण गर्ने कुत्सित प्रयासहरूले नै स्पष्ट पारी रहेका छन् । कस्तो असमन्जसता ! बोल्न सक्नेहरूलाई ठाउँमा प्रतिनिधित्व गराईदैन । जो बोल्दैनन् तिनीहरूलाई प्रतिनिधित्व गराइन्छ । यो विभेदमा पारिएका जातिहरूले यस्तो परिस्थितिमा बाँच्न परेको छ । अनन्त रोग, भोक, शोक भोग्न परे पनि पराया मुलुकको धारिलो नंग्राले कोपरेर औपनिबेशिकताको पीडा न पुर्खाले न यो नयाँ पुस्ताले भोग्नु परेको थियो । म चाहन्थें जनताका प्रतिनिधि बनाइएकाहरूले अधिकारको कुरामा कसैसंग कतै नझुकी, संझौता नगरी जोड्दार रूपले आवाज उठाउन् र जनताको पक्षमा संविधान, ऐन काननुहरू निर्माण गरुन् । तर त्यसो भएन, गरिएन किन कि सबै प्रतिनिधित्व गर्नेहरू दास जस्ता थिए ।

बुद्धको आँखाले न्याय अन्याय हेर्दैछ भन्दैमा देशमा न्याय कहाँ हुन्छ ? देश कहाँ चिनिन्छ र ? जबसम्म यहाँ छलीदास जालीदासहरूको रगरगी र बिगबिगी हट्दैन तबसम्म मुलुक डरमर्दो अवस्थामा रहिरहन्छ । हो देश एकतर्फी ढल्काएर बनाइएको संविधानको धाराहरूबाट चिनिन्छ । ऐन कानुनका धारिलो धारहरूले नमर्दै जिउँदै मान्छे छ्याक छ्याक काट्दा चिनिन्छ । नीति निर्माण र निर्णय गराईका छुराहरूले मान्छेको मुटु कलेजोमा धस्दा चिनिन्छ । बालबच्चाको पेट काटी काटी तिरेको राजस्व आफ्नाहरूलाई मात्र लुछी लुछी खान र ख्वाउन तिनले बनाएका परिपाटीहरूबाट चिनिन्छ । उनीहरूको कालो मन पेटले चिनिन्छ । मुलुकलाई रामजगत होइन अनेक रासलिला गर्ने कामजगत मात्रै बनाउँदा पो चिनिच्छ । यसैले मुलुकमा यस्तो विधि संग्राम महासंग्राम चलिरहँदा यही दलित, जनजाति, मुस्लिम र मधेशीमा महात्मा गान्धी र नेल्सन मण्डेला होइन लेनिन र माओत्सेतुङहरू जन्मनु पथ्र्यो भन्छु । तर हिन्दु धर्मशास्त्रमा उल्लेखित बाबु मराएर, दाजु मराएर, छोरा मराएर राजशासन आफ्नो हातमा लिने प्रल्हाद, विभिषण, उग्रसेन जस्तै खलनायकहरू मात्र जन्मिन्छन् । यसले यि जात जातिहरूले अझ कति ढाकरे, दास, कमैया र कमलरी भएर बाँच्नु पर्ने हो थाहा छैन । पछाडी परे पारिएका नेपाली जनताको भविष्य झन् अन्जान हुँदैछ आफ्नै प्रतिनिधि भनाउँदाहरूको अकर्मण्यताले ।