लण्डन– नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार शिवजी श्रेष्ठले नेपालको प्रजातन्त्रको जग पूर्व गोर्खाहरु भएको बताएका छन् ।
७० औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले जूम मार्फत आयोजना गरेको कार्यक्रममा सल्लाहकार श्रेष्ठले वर्तमान राजनीतिको नेतृत्वमा रहेकाहरुले यसको श्रेय पूर्व गोर्खाहरुलाई दिनु पर्ने बताए । कार्यक्रममा श्रेष्ठले नेपाली जनताको लोकतन्त्रको आधारभूमि २००७ सालको क्रान्ति नै रहेको जिकिर गरे । साथै उनले राज्यले पछिल्लो समय गोर्खाहरुको गौरवपूर्ण इतिहासको वेवास्था गर्दै गएको बताउदै भने ‘क्रान्ति जब निराश बन्छ, तब क्रान्तिका नायकहरुलाई राज्यले विर्संदै जान्छ’ ।
उनले नेपाली कांग्रेस र नेपाली प्रजातन्त्रलाई संस्थागत गर्नका लागि सबै भन्दा अग्रगामी भएर लड्ने व्यक्तिहरुको जीवनीलाई आधार मानेर संस्था स्थापना गरी उनीहरुको विषयमा खोज अनुसन्धान गर्नु पर्नेमा जोड दिए । उनले प्रजातन्त्रलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न नारदमनी थुलुङ, राम प्रसाद राई, जी.बि. याक्थुङबा लगायतका इतिहास पुरुषहरुको नाम नेपाली राजनितिमा कहिल्यै नहराउने बताए ।