काठमाडौं– सचिवालय बैठक बोलाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई दिएको समयसीमा बित्दै गर्दा अर्को पक्षको बैठक पुनः बस्ने भएको छ। गत आइतबार सचिवालयका सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीलाई सचिवालय बैठक बोलाउन सोमबारसम्मको समयसीमा दिएका थिए। पछि मंगलबारसम्म कुर्ने उनीहरुले निर्णय लिएका थिए।
तर तोकिएको र थपिएको दिन बित्दै गर्दा पनि ओलीले बैठक बोलाउने कुनै संकेत नदिएपछि सो समूहले धारणा तय गर्न अनौपचारिक बैठक बोलाएको हो।
बैठक मंगलबार ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
धुम्बाराहीको बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी छ।
गत शनिबार पाँच नेताको पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले आइतबार ओलीलाई भेटेर बैठकको लागि आग्रह गर्ने निर्णय लिएको थियो। आइतबार उनीहरुले बालुवाटारमा ओलीलाई भेटेर सचिवालय बैठकका लागि लिखित आग्रह गरेका थिए।
‘छिट्टै सचिवालयको बैठक बस्नका निम्ति कमरेड केपी शर्मा ओलीसँग पनि अनुरोध गरेका छौं। लिखित रुपमा अनुरोध गरेका छौं। कमरेड केपी शर्मा ओलीले बैठकको बारेमा आज निष्कर्ष दिनुभएको छैन। हामीले सकभर भोलि नै, नभए पर्सिसम्ममा बैठक बसेर यी सबै विषयहरुमा गम्भीरतापूर्वक छलफल गरौं र पार्टीलाई एकताबद्ध बनाउने, विधि र पद्धतिको आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने, छलफल सन्दर्भ र कामकारबाहीमा एकरुपता र पद्धतिको आधारमा अगाडि बढ्ने दिशातिर जानेगरी निष्कर्ष निकालौं भनेर अनुरोध गरेका छौं’, आइतबार बालुवाटारको छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए।
ओलीले मंगलबार पनि बैठक नबोलाए प्रचण्ड आफैंले औपचारिक बैठक बोलाउने बहुमत समूहको तयारी छ। तर गत बिहीबार ओली प्रचण्डको भेटमा औपचारिक बैठक बोलाए त्यो नै पार्टी फुटको बिन्दु हुने ओलीको चेतावनीपछि शनिबारको बैठकलाई भने अनौपचारिक बैठक भनिएको थियो।
‘केपी ओलीले बैठक बस्न सहमति दिनु भएन। र बैठक बस्न सहमति नदिएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर समेत भन्नुभएको कुरा आज प्रचण्डले जानकारी गराउनुभयो। यो पृष्ठभूमिमा प्रचण्डले ओलीसँगको सहमतिमा अनौपचारिक बैठक आह्वान गर्नुभयो’, शनिबारको बैठकपछि प्रवक्ता श्रेष्ठले भनेका थिए।
यसैबीच, मंगलबार बिहान प्रदेश ५ का मुख्यमन्त्री तथा प्रधानमन्त्री निकटका नेता शंकर पोखरेलले प्रचण्डलाई भेटेका छन्।
प्रचण्डलाई शंकर पोखरेलको आग्रह- ओलीसँग संवाद गर्नुस्। भेटमा पोखरेलले ओलीसँग संवाद कायम राख्न प्रचण्डलाई आग्रह गरेका थिए। प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार पार्टीको समस्या दुई अध्यक्षको संवादबाटै टुंगिने स्मरण गराएका थिए। ‘दुई अध्यक्ष बसेर छलफल गर्दा समस्या समाधान हुन्छ’, पोखरेलको आग्रह थियो, ‘त्यसैले तपाईंले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्यो।’
प्रचण्डले भने संवादका लागि रुची व्यक्त गरेका थिएनन्। उनले ओली पक्षले आफ्नो गुटको भेला गरेको र विधानमै नभएको जबजलाई बहसमा ल्याएको लगायतको कारण देखाउँदै यस्तो अवस्थाका बीच संवादको अर्थ नहुने प्रष्ट पारेका थिए।
प्रचण्ड लगायतका बहुमत सचिवालय सदस्यले आइतबार ओलीलाई भेटेर बैठकका लागि सहमति दिन आग्रह गरेका थिए। तर ओलीले भने १५ दिनभित्र बैठक राख्ने तयारी गर्न महासचिव विष्णु पौडेललाई निर्देशन दिएका थिए। सोही सन्देश लिएर सोमबार पौडेल प्रचण्ड निवास पुगेका थिए।nepallive