फुङलिङ: लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो ।
हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । कक्षा ६ र ७ मा पठनपाठन शुरुआत गरिएको हो ।
विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उहाँले बताउनुभयो । ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।
सेंवा उच्च मावि, महेन्द्र आधारभूत विद्यालय, स्वस्वती उच्च माध्यमिक विद्यालय फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका–११ मयेम माध्यमिक विद्यालय र कञ्चजङ्घा उच्च माध्यमिक, यामफुदिन लक्ष्मी माध्यमिक विद्यालय मामखे शिद्धकुमारी आधारभूत विद्यालय गरी ताप्लेजुङमा सात विद्यालयमा २४३ विद्यार्थीले रातो हाब्रेको संरक्षण र महत्वसम्बन्धी अध्ययन गरिरहेका जनाइएको छ ।
इलामको माईजोगमाई गाउँपालिकाको ज्ञानोदय मावि र प्याङ मावि, सन्दकपुर गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय, प्रमोद मावि, श्याम्बल मावि र चन्द्रोदय मावि तथा इलाम नगरपालिकाको वाल्मीकि आधारभूत विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हँुदै आएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ ।
कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानून, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका रहेका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ ।