April 12, 2026, Sunday
२०८२ चैत्र २९
1:37:26 pm

सम्झनाको चोमोलुङ्माः युवा विद्रोह

इन्द्र थेगिम
२०८२ चैत्र २८

2K

रोशन यक्सोकृत ‘सम्झनाको चोमोलुङ्मा’ पढ्दा सुरुमा पाठकलाई लाग्न सक्छ— ‘एउटा युवा सर्जक आफ्नो मुलुकप्रति किन यति साह्रो विद्रोही बनेको होला ?’ तर कविताका पत्रहरू केलाउँदै जाँदा बुझिन्छ, यो आक्रोश देशप्रति होइन, बरु त्यो अन्यायपूर्ण राज्यसत्ता र संयन्त्रप्रति हो । जसले वर्षौंसम्म एउटा समुदायलाई किनारामा पारिरह्यो ।

यो सङ्ग्रहले ती नेपालीहरूको आवाज बोकेको छ, जो आफ्नै माटोका लागि पसिना बगाउँछन् । तर राज्यको नजरमा सधैँ ओझेलमा पारिन्छन् । ‘सम्झनाको चोमोलुङ्मा’ केवल कविताहरूको सँगालो मात्र नभई, आफ्नो पहिचान र अस्तित्वका लागि लडिरहेका ‘अदृश्य’ मानिसहरूको एउटा शक्तिशाली दस्तावेज हो ।

mostbet

‘सम्बोधन’ कवितामा सुम्निमालाई ‘जङ्गली’, ‘अनपढ’ र ‘कामोत्तेजक’ जस्ता अपमानजनक बिम्बले चित्रण गरिनुले हाम्रो समाजमा आदिवासी जनजाति र उनीहरूको सभ्यतालाई हेर्ने कति संकुचित र पूर्वाग्रही दृष्टिकोण छ भन्ने कुरालाई उदाङ्गो पारेको छ । यो केवल एउटा पात्रको अपमान होइन, बरु एउटा सिङ्गो पहिचान र अस्तित्वलाई होच्याउने शासक वर्गको अहङ्कार हो । सुम्निमालाई त्यसरी हेरिनुले वर्षौंदेखि कतिपय समुदायलाई ‘दोस्रो दर्जा’को नागरिक बनाइएको तीतो यथार्थलाई पोखेको छ ।

Advertisement

‘डिपार्चर’ कविताले त झन् मुटु नै छियाछिया पार्छ । बायाँ छातीमा देशको माया र हातमा परिवारका लागि ल्याइदिने सपनाका कोशेलीहरुको सूची बोकेर हिँडेको एउटा तन्नेरी फर्कँदा खुसी बोकेर आउँछ कि ‘काठको बाकस’मा लास बनेर? यो अन्योल आजको नेपाली युवाको साझा नियति बनेको छ ।

पहिचानको लडाइँ
पुस्तकले ‘म को हुँ?’ र ‘यो देशमा मेरो स्थान कहाँ छ?’ भन्ने गम्भीर प्रश्न उठाउँछ । माथिल्लो दर्जाका शासकहरूले थिचेका आवाजहरू यहाँ कविता बनेर विस्फोट भएका छन् ।

युवा विद्रोह र पीडा
एक छाक टार्न खाडीको तातो बालुवामा पसिना बगाउने युवादेखि आफ्नै माटोमा अनागरिक झैँ बाँच्न विवश नागरिकका अनुहारहरू कविताहरूमा प्रस्ट झल्किन्छन् ।

सुझाव
कविताहरुले देशको उकुसमुकुस र सीमान्तकृतका पीडालाई जुन उचाइमा राखेर बोलेको छ, त्यसले अवश्य सबैको मस्तिष्क झङ्कृत बनाउँछ । तर, यी आक्रोश र विद्रोहका हरफहरू पढिरहँदा एउटा प्रश्न मनमा खेलिरहन्छ— ‘के जिन्दगी केबल गुनासो र सङ्घर्षको दस्तावेज मात्रै हो र ?’

कतिपय कविता पढ्दा लाग्छ यसको नाम ‘देशको नक्सामा गायब अनुहार’ नै हुनुपर्ने थियो । तथापि, ‘चोमोलुङ्मा’ आफैँमा एउटा अटल उचाइ र स्वाभिमानको प्रतीक हो, जसले दमनका बीच पनि शिर नझुकाउने साहसलाई प्रतिनिधित्व गर्छ ।

निष्कर्षः
यो पुस्तकले पाठकलाई देशभक्तिले लपक्कै मात्र पार्दैन, बरु देशको वर्तमान अवस्था र विभेद देख्दा आङै सिरिङ्ग पार्ने गरी रिस पनि जगाउँछ । यो एउटा यस्तो ऐना हो, जहाँ राज्यले कहिल्यै देख्न नचाहेका नागरिकका वास्तविक अनुहारहरू सजिएका छन् ।