April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोर्खा अभियन्ता तथा प्राज्ञ डा. चन्द्र लक्सम्बाको मस्तिष्क रक्तश्रावबाट निधन

24K

लण्डन – नेपाली समाजका एक अगुवा प्राध्यापक डा. चन्द्र लक्सम्बाको मस्तिष्क रक्तश्रावको कारण निधन भएको छ । नेपाल खुल्ला विश्व विद्यालयमा समाजशास्त्रका प्राध्यापक डा. लक्सम्बा गत बर्षको सुरुतिरै पारिवारिक भेटघाटका लागि बेलायत आएका थिए । तर कोरोना लकडाउनका कारण अनिश्चित कालसम्मका लागि बेलायतमा नै रहनु पर्ने भएपछि उनले अनलाइन मार्फत नै अध्यापन गर्दै आएका थिए ।

त्यसो त उनको निधनको तत्कालिक कारण मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) भएको भनिए पनि उनी केही समययता कोरानाबाट पनि संक्रमित थिए । स्वासप्रस्वासमा निकै कठिनाई भएपछि उनलाई गत शनिवार अस्पताल भर्ना गरिएको थियो ।

स्व. लक्सम्बाको जन्म ताप्लेजुङ जिल्लाको सिकैचा गाउँ (हाल श्रीजँघा गाउँपालिका) मा सन् १९६४ मा भएको थियो । अमृत साइन्स क्याम्पस काठमाण्डौंमा अध्ययनरत रहँदा कम्युनिस्ट राजनीतिमा होमिएका स्व. लक्सम्बा पछि ब्रिटिश गोर्खा आर्मीमा भर्ना भए ।

Advertisement

१९ बर्षको सेवापछि उनी सन् २००२ मा सेवा निवृत्त भए । उनले सन् २००५ मा युनिभर्सिटी अफ सर्रेको राजनीति बिभागबाट लाइफ लङ लर्निङमा विद्यावारिधि गरे । आफ्नो विद्यावारिधि शोधको अवधिमै उनले मेजर टिकेन्द्र दल देवान लगायत अन्य गोर्खा अगुवाहरुसित मिलेर ब्रिटिश गोर्खा वेलफेयर सोसायटी स्थापना गरे र सन् २००४ मा पूर्व गोर्खाहरुको आवासीय भिसाको मुद्दालाई सफल निस्कर्षमा पुर्याए । उनी सन् २००६ मा भएको गैर-आवासीय नेपाली संघ बेलायतको प्रथम निर्वाचनमा उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याएर बिजयी भएका थिए । त्यसपछि उनले बेलायतमै रहेका अन्य प्राज्ञहरुसित मिलेर सेण्टर फर नेपाल स्टडिज यूके स्थापना गरे ।

सन् २०१८ मा उनी नेपाल खुल्ला विश्व विद्यालयमा प्राध्यापक नियुक्त हुनपूर्व स्व. डा. लक्सम्बाले क्याम्ब्रिज युनिभर्सिटीको पाठ्यक्रम विकास र सुधार क्षेत्रमा झण्डै एक दशक जति दोस्रो जागिर खाए । सोही समयमा गोर्खाहरुको बाँकी रहेको मुद्दाहरुलाई पनि दिशा निर्देश गरिरहे । केही समयअघि मात्र उनलाई नेपाल सरकारले लुम्बिनी बौद्द विश्व विद्यालयको सिनेट सदस्यमा नियुक्त गरेको थियो । बेलायतका नेपाली समाज र गोर्खा मामिलाका बिषयमा स्व. डा. लक्सम्बाका थुप्रै स्वलेखन र सहलेखन कृतिहरु प्रकाशित छन् ।

स्व. लक्सम्बाका श्रीमती, दुई छोराहरु, एक बुहारी र नातिनातिनीहरु छन् ।