म प्रत्येक दिन एउटै समयमा उठ्छु। नित्य कर्म गर्छु। घडीको अलार्म उही समयमा बज्छ। सधैं एउटै बाटो हिंड्छु। उही ट्रेन पक्रन्छु। त्यही कुर्सीमा बस्छु। उही काम गर्छु। थाकेर लखतरान म, साँझ घर फर्कन्छु। हरेक महिनामा उही तारिख तलब थाप्छु। आफ्नो आम्दामीमा उही नियमित कटान हन्छ — ‘ट्याक्स’, ‘एन. आइ.’, ‘प्राइभेट पेन्सन’ र ‘स्टुडेण्ट लोन पेब्याक’ आदि। यदि बिरामी भइन भने म हरेक महिना उति नै तलब थाप्छु। तलब थापेको भोली पल्ट सबै बिल-ब्याज तिरोभरोपछि मसित बाँकी करिब केही रहन्न। तलब थापेको भोलीबाट नै म फेरि आउने अर्को ३० दिनको पर्खाईमा बाँच्न थाल्छु। यसरी नै यो चक्र चलिरहन्छ।
यो मेरो कथा हो। तर नेपालमा होस् वा विदेशमा, यही कथा हामी तलबमा काम गर्ने आजका हामी सबैको प्रतिनिधि कथा हो। के यो दासत्व होइन? होइन भने के हो त? हाम्रो यो कथा र इतिहासमा बयान गरिने दासताबीच के भिन्नता छ? यही विषयमा आज एउटा छोटो लेख राखेको छु। तर सुरुमै जानकारी गराऊँ, तलबी दासता’ आधुनिकताले ल्याएको त हो, तर ‘मोडर्न स्लेभरी’ यो एउटै होइन। मार्क्सले सन् १८४७ मा नै ल्याउनुभएको ‘वेज स्लेभरी’ को अवधारणालाई तर आजकल ‘मोडर्न स्लेभरी’ ले ओझेलमा पारेको छ। ‘मोडर्न स्लेभरी’ ले बलात् काम र बेचबिखनमा परेका साढे ४ करोड पीडितहरुलाई जनाउँछ भने ‘वेज स्लेभरी’ ले तलबमा काम गर्ने संसारभरका झण्डै २ अर्ब लाई जनाउँछ। तर यसलाई दासता होइन स्वतन्तत्रा जस्तो नै देखाइन्छ। यो लेख त्यही दुई अर्ब मानिसको कथा हो।
एक पटक बिगत हेरौं, हाम्रा बाजेको पालासम्म पनि काम गर्नु भन्नाले कुनै कुराको सिर्जना गर्नु, दिमाग प्रयेग गरेर आफ्नै हातले निर्माण गर्नु भन्ने अर्थ राख्थ्यो। उत्पादनक्रममा आफूले सृजना गरेका वस्तुमा आफ्नो नियन्त्रण हुन्थ्यो, त्यसमा भावना जडित हुन्थ्यो, आफैंले उपभोग गर्न पनि पाइन्थ्यो। गाउँमा लोहारले फलाम ढाल्थ्यो, डकर्मीले घर बनाउँथ्यो, सिकर्मीले काठको काम गर्दथ्यो, किसानले जमिन जोत्न्थ्यो। श्रमिक, उसको श्रम, सीप र उत्पादित वस्तुबीच सुरूदेखि अन्त्यसम्मको सम्वन्ध रहन्थ्यो। कामले एउटा पहिचान दिलाउँथ्यो।
तर आज यी मौलिकताहरु सबै बदलिएका छन्। समय, श्रम र सीपलाई टुक्राटुक्रा बनाइएको छ। हाम्रो दक्षतामाथि कसैको अधीनता छ। औद्योगिक प्रणालीले केवल हाम्रो काम र सृजनालाई मात्र विभाजन गरेको छैन, मानव समाजलाई, अझ भनौं, एउटै मानवलाई टुक्रा–टुक्रा पारेको छ। अब हामी केही पनि उत्पादन गर्दैनौं। केवल एउटा प्रक्रियाको सानो टुक्रा पूरा गर्दछौं, जसलाई हामी कहिल्यै पूर्ण रूपमा बुझ्न सक्दैनौं। हिन्दी शब्द ‘अलगाव’ र कार्ल मार्क्सले भनेको ‘alienation’ भनेको यही हो। अब हामी आफ्नै इच्छाबाट अलगिएको एउटा मेशिन बनेका छौं।
हो, वर्तमान प्रणालीले व्यक्तिलाई स्वाधिन बनाउने प्रण गरेर आत्मनिर्भर्ताका लागि भनेर तलब दिने नाममा केवल हाम्रो श्रम मात्र निचोरेर स्वतन्त्रताको हरण गरेको छ। दास युगमा त कोर्रा र जञ्जीरहरु दखिन्थे, आज उत्पादनवादमा ति सबै हतियारहरू अदृश्य रहन्छन् तर हामीले तिर्नु पर्ने मूल्य उही हो। यो प्रणालीले एउटै कुरामा हामीलाई विस्वास दिलाएर बाँच्न बाध्य पारेको छ। त्यसलाई भन्ने गरिएको छ – ‘अवसर’।
आज हाम्रो श्रमले वस्तु र सेवा उत्पादन हुन्छ, तर त्यसमा हाम्रो कुनै इच्छा वा निर्णयको गुञ्जायस हुँदैन। हामी आज सामान्यतया जेलाई ‘सुख’ भन्दैछौं त्यस्तो आनन्द वास्तवमा साँचो ‘सुख’ होइन। हाम्रो तलबी जागीर आज केवल भोकबाट बच्न, समाजमा अस्तित्व कायम राख्न, र राज्यलगायत कसैको सामु असहाय नबन्नको लागि निर्मित एउटा उपाय हो। यसलाई नै ‘पेशागतता’, ‘जिम्मेवारी’ र ‘विशेषज्ञता’ को नाममा सामान्यीकृत गरिएको छ। अरुको अधीनमा रहनु नै ‘उपलब्धि’ भनिएको छ, र हाम्रो श्रमको शोषणलाई नै अवसरको रूपमा प्रस्तुत गरिएको छ। हामीले आफू मानव हुनुको सार गुमाएको अवस्थामा छौं।
हामीले प्राप्त गर्ने तलब आधुनिकतामा स्वतन्त्रताको एउटा महान् भ्रम हो। यसले हामीलाई विश्वास दिलाउँछ कि हामी आफ्नो श्रमको मूल्य मोलतोल गर्दैछौं, तर वास्तवमा हामी श्रम बजारमा दासताको कुन साङ्लो लगाउने भन्ने कुराको छनौट मात्र गर्दैछौं। यो प्रणालीले हामीलाई एउटा वस्तु बनाएर हाम्रो समय, श्रम र स्वतन्त्रतालाई भाडामा लिएको छ। हामी आफ्नो जीवनको सबैभन्दा सृजनशील वर्षहरूलाई ८, १० वा १२ घण्टाको टुक्रा पार्दै स्वतन्त्रता बेचिरहेका छौं, केवल श्रम गरेर केवल आधारभूत आवश्यकता पूरा गर्नलाई। तर तलब हाम्रो “भुक्तानी” होइन, यो हाम्रो अस्तित्वको ‘मूूल्य’ हो। जसरी एक श्रमिकले घर किन्ने नसकेर भाडामा बस्छ, त्यसरी नै पूँजीपतिले उसको जीवन खरिद गर्न नसकेपछि उसलाई अस्थायी भाडा दिन्छन्, जसलाई हामी तलब भन्छौँ। अतः एउटा श्रमिकले घरमालिकलाई भाडा तिर्न नसक्ने भएपछि कोठा छोडेजस्तै पूँजीपतिले पनि आवश्यकता नपरेपछि श्रमिकलाई बेरोजगारको भीडमा फ्याँकिदिन्छ। बेरोजगारीको बजारमा कुनै पनि बेला झर्नु पर्ने श्रमिकहरुको यो अवस्थालाई सन् १९८० को दशकबाट “precarious work in neoliberalism” (नवउदारवादको जोखिमपूर्ण जागीर) भन्न थालिएको हो। यसरी, हामी अन्तर्राष्ट्रिय मानव अधिकार कानूनमा भनिएको ‘inalienable rights’ (अपरिवर्तनीय अधिकार) वाला मानव होइनौं, बरु पूँजीवादका अस्थायी सम्पत्ति मात्र हौं।
आज उत्पादनका सम्पत्तिको ठूलो हिस्सा अल्पसंख्यकले नियन्त्रणमा राखेका छन्, जबकि बहुसंख्यकले आफ्नो जीवनभरको श्रमबाट त्यही सम्पत्ति उत्पादन गरेका हुन्। यो अचानक भएको घटना होइन, न त प्रकृतिको नियम हो। यो एउटा स्पष्ट उद्देश्यअनुसार डिजाइन गरिएको प्रणाली हो, जसले अधिकतम शोषण गर्छ र न्यूनतम ज्यालामा जीवित रहन हामीलाई बाध्य पारिरहेको छ।
जर्मनीका धर्मशास्त्री डाइट्रिख बोनहोफरले भनेका थिए, “कुनै पनि नैतिक व्यवस्थाको वास्तविक परीक्षा भनेको प्रचलित मूल्य-मान्यतालाई मात्र पछ्याउनु होइन, बरु त्यस मूल्य–मान्यता आफैं न्यायपूर्ण र विवेकशील छ कि छैन भनेर बुझ्नु र आवश्यकता परे आफूलाई समाप्त गर्न सक्नु नै वास्तविक नैतिकता हो”। यस सन्दर्भमा, आधुनिक तलब प्रणाली परीक्षामा असफल भइसकेको छ। यसले मानिसहरूलाई अनैतिक र अन्यायपूर्ण तरिकाले बाँधिरहेको छ, र यसको अस्तित्व केवल मानिसहरूलाई स्वाससम्म फेर्न दिने र जीवनभर काम गर्न बाध्य पार्ने अनिवार्यतामा आधारित छ।
तलबी प्रणालीले मानव जीवन र सामाजिक गतिशीलताबारे ठूलो भ्रम सिर्जना गरेको छ।ईशाई धर्मअन्तर्गतको ‘प्रोटेस्टेन्ट एथिक’ को “कडा परिश्रम गर, पैसा जम्मा गर, तब मात्र ईश्वरको कृपा पाइन्छ” भन्ने मूल विचार औद्योगिक क्रान्ति र पूँजीवादी श्रमबजारसँग गाँसिएपछि आधुनिक जीवनको “काम मेरा पूजा, पूजा ही मेरा काम” वाला नैतिकता स्थापित भयो। यसले मानिसलाई जीवनभर श्रम गर्नुपर्ने बाध्यता सिर्जना गर्यो, मानौं निरन्तर परिश्रम र मालिकप्रतिको समर्पणले मात्र सफलता ल्याउँछ। तर यो योग्यताक्रम (मेरिटोक्रेसी) को सीढी होइन; यो जिमखानाको कृत्रिम ट्रेडमिल हो, जहाँ तपाईं धेरै दौड्नुभएको महसुस गर्नु त हुन्छ तर वास्तवमा सधैं उही ठाउँमा रहिरहनुहुन्छ, आफ्नो श्रम पूँजीपतिलाई बेचिरहनुहुन्छ।
आजको पूँजीवादी अर्थव्यवस्थामा उत्पादनमूलक र उपभोगी संस्कारले मानवीयताका स्वाभाविक विशेषताहरूलाई नै विकृत बनाइदिएको छ। आज चिन्तन गर्नु आलस्य बनेको छ। मनन गर्नु समयको वर्वादी जस्तो बन्न गएको छ। हाम्रो अवकाश, शिक्षा र नाता-सम्बन्धहरू पनि अब दक्षता र उपयोगिताको नाङ्गो तराजूले तौलिइन्छन्। यसले गर्दा हाम्रा आकांक्षाहरू पनि अब हाम्रो आफ्ना हैनन्। उत्पादन प्रणालीले हामीलाई जे तोकेको त्यो मात्र चाहन हामी बाध्य छौं – एउटा यस्तो व्यवस्था जसले हामीबाट जे उत्पादन गराउँछ त्यही नै चाहन हामीलाई पनि सिकाउँछ। जिज्ञासा गर्नु वा प्रणालीउपर प्रश्न गर्नु ‘काममा बाधा दिनु’ जस्तो बनेको छ। विश्राम गर्नु अब अनुत्पादकताको पर्याय बनेको छ। हामी जीवन जिउनुको सट्टा यसलाई व्यवस्थित गर्नतिर मात्रै लागेका छौं। यसलाई उर्दूको एउटा शेरमा भन्नु पर्दा:
“जहर मे डुबे हैं हम, पर पि नहीं रहें है
जिन्दगी को सह रहे है हम, पर जि नहीं रहे है”।
उत्पादनशीलता, उपयोगिता र कार्यकुशलताको मान्यताले आज व्यक्ति र समाजमा नैतिक पदक्रम (मोरल हाइर्याकी) खडा गरिदिएको छ। देखिने र नाप्न सकिने भौतिकतालाई मात्र नतिजा र श्रेष्ठता ठानिन्छ। शिक्षक, निर्माण मजदूर, हेरचाहकर्ता वा कलाकार जस्ता आधारभूत पेशाहरूलाई कम मूल्य दिइन्छ, जबकि संसारलाई खुवाउने किसान भन्दा स्टक बजारमा सट्टा खेल्ने, कुनै मूर्त वस्तु सिर्जना नगर्नेहरूले लाखौं कमाउँछन्। आज तपाईंको मूल्य तपाईंको मानवता होइन, तपाईंको भौतिक उत्पादन हो। हरेक घण्टा, हरेक क्षण, हरेक विचार उत्पादनशीलताको मूल्य–मान्यताबाट प्रदुषित र उपनिवेशित भएको छ। यसरी हामीभित्रको मानिसलाई होइन, उत्पादन गर्ने मशीनलाई मात्र मूल्य दिइन्छ।
आधुनिकताले ल्याएको तलबी दासता (Wage Slavery) आज तपाईंको कार्यकक्ष र कामको घण्टाभन्दा परसम्म फैलिएको छ। ‘वर्किङ फ्रम’ होम र ‘वर्किङ अनलाइन’ को नाममा आज तपाईंले चौबिसै घण्टा उपलब्ध हुन पर्ने बाध्यता छ। तपाईंको राजगारदाताले तपाईं खाने, सुत्ने, मनोरञ्जन गर्ने, अध्ययन गर्ने, रोमान्स गर्ने, जिम जाने समय केही चिन्दैन। मध्यरातमा पनि तपाईंलाई कामकै सवालमा कतैबाट फोन आउन सक्छ। आधुनिक तलबी दासताले तपाईंको शिक्षा, सम्बन्ध, फुर्सद, र यहाँसम्म कि मृत्युको योजनामासमेत पनि घुसपैठ गरेको छ। तपाईंको सम्पूर्ण जीवन ‘मनिटाइज’ भएको छ। यो प्रणालीले तपाईंलाई सधैं सक्रीय रहन बाध्य बनाएको छ। खाली समयमा पनि ब्यस्त बनाइको छ, कहिलेकाहीं विश्राम गर्नुलाई समेत अनुत्पादक ठहर्याइदिएको छ। खाली हुँदा अध्ययन-चिन्तन गर्नु, सत्यको साक्षात्कार गर्नु, मौलिक सिर्जना गर्नु हो — जुन अन्तर्दृष्टि, रचनात्मकता, र चिन्तनको लागि आवश्यक छ –– त्यसलाईसमेत अपराध जस्तो ठहर्याइन्छ। आज थाकेको बेला आराम गर्दा समेत सामाजिक कलंक (social stigma) लाग्ने हो कि भनेर लुकीलुकी आराम गर्नु परेको छ। किनभने (कतै तपाईं पैसावाल हुनुहुन्छ भने मात्रै नत्र) आरामले घाम ताप्नु, खेल्नु, विचरण गर्नुले तपाईंलाई बेकामे, अल्छी वा महत्वाकाँक्षी देखाउँछ। तपाईं तलबी दासतामा हुनुहुन्छ त तपाईंको परिचय छ, नत्र तपाईं कोही होइन र केही होइन। तलबी दासता हाम्रो अनिवार्य परिचय बनेको छ। अर्थात, वास्तविक विश्रामले तपाईंको परिचय हराउने खतरा छ।
अतः तलबी दासतामा अधिक काम गर्नु एउटा लतको रूप बनिसकेको छ। यो व्यवस्थाले कामलाई मानिसको असली पहिचान बनाइदिएको छ, र तलबमा काम नगर्नुलाई अस्तित्वको संकटको रूपमा देखाउँछ। आजका मजदूर र कर्मचारीहरु आफैं आफ्नो बन्धनको निर्माण गर्दैछन्। निवृतिभरण, ऋण, मोर्गेज, प्रतिस्पर्धा, पदोन्नतिको लोभ र सामाजिक प्रतिष्ठा (social status) को लागि गरिने छनौटहरूले उनीहरुलाई सधैं यही प्रणालीमा सधैंलाई बाँधिराख्छन्। तपाईं यसलाई भविष्य निर्माण भन्न सक्नु हुन्छ, तर वास्तवमा यो एउटा अदृश्य वन्दीगृहको कालकोठरी हो जसको ताल्चा तपाईं आफैंले बनाउँदै हुनुहुन्छ।
तर कसैले यो व्यवस्थालाई चुनौती दिइहाल्यो भने उसले भावनाको दबाबबाट उत्तर तत्काल उत्तर पाइहाल्छ – “आखिर धन्न नोकरी त छ”, “जीवन धानेका छौ”, “परिवार पालेका छौ”, “घर चलाएका छौ”। यी शब्दहरूले उचित आक्रोशलाई आभारमा, र अन्यायप्रतिको चेतनालाई आफ्नै गलतीको भावना र हीनतामा बदलिदिन्छ। वास्तवमा आफ्नो शारीरिक थकान, मानसिक चिन्ता, आराम, सृजनात्मकताबारे सोच्नु तपाईंको कमजोरी होइन। यी अस्वाभाविक परिस्थितिको स्वाभाविक प्रतिक्रिया हो। तर मिहेनत, वफादारिता र झुकावमाथि अझ थप गरेर सधैं श्रमको शोषण स्वीकार गर्न सिकाइरहन्छ यो प्रणालीले।
आधुनिक प्रणालीमा स्वतन्त्रता एउटा भ्रम मात्र हो। यसलाई एउटा विशेषाधिकारको रूपमा प्रस्तुत गरिन्छ, तर यो कमाउनु पर्छ, किन्नु पर्छ वा जित्नु पर्छ। तर जुन स्वतन्त्रता किन्नु पर्छ, त्यो स्वतन्त्रता होइन; यो अस्थायी, सशर्त, र वास्तविक शक्ति भएकाहरूद्वारा दिइएको उपकार मात्र हो। बाँच्नको लागि तपाईंले आफ्नो श्रम बेच्नु नै पर्छ। छनौटको अवसर यो प्रणालीको सीमा भित्र मात्र छ – कुन कम्पनीले तपाईंलाई शोषण गर्ने, कुन ऋण लिने, वा कुन उपभोगमा लाग्ने भन्ने निर्णय। यो कुनै निकासी नभएको छनौट हो।
तलबी दासता प्राचीन दासता भन्दा रुपमा धेरै परिष्कृत छ किनभने बाहिरी चर्म चक्षुले नभएर अनुभव र अन्तरमनले मात्र देख्न सकिन्छ। तलबी दासतामा शोषितहरू आफैं आफ्नो शोषणको रक्षा गर्छन्, र बाँच्नको लागि श्रम बेच्न पर्ने बाध्यतालाई स्वतन्त्रताको जामा भिराइएको छ। तलबी दासताले हाम्रो पहिचान, कल्पना, र इच्छामाथि उपनिवेश जमाएको छ। प्राचीन गुलामले बरु आफ्नो अवस्था थाहा पाएर प्रतिरोध गर्दथ्यो। तर आधुनिक श्रमिक दासलाई श्रम आज्ञापालक बनाइएको छ।
अन्तमा, वास्तविक जागरण तब सुरु हुन्छ जब हामी आफ्ना लुकेका साँचाहरू देख्न थाल्छौं र उत्पादकताको संरचनालाई नै प्रश्न गर्दछौं। आफ्नो जीवनको स्वतन्त्रता नबेचिकन बाँच्न सक्नु, चिन्तन-मनन, सम्बन्ध र सिर्जनाको लागि आफ्नो समय फिर्ता लिनु नै स्वतन्त्रता हो। यो नभएसम्म “चालीस कटेसी रमाउँला” भन्दै पेन्सनको लोभमा ६५ बर्षसम्म गरीबीमा जिन्दगी कटाएर मर्ने बेलामा धनी बाँच्नुको कुनै औचित्य छैन।




