सिरहा । अपहरणमा परी तीन दिनदेखि बेपत्ता बालकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको अवस्थामा उनको शव फेला परेको हो।
असोज ५ गते आइतबारदेखि हराएका अभिषेखको शव मंगलबार बिहान अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
साथीहरूसँग ‘झिंजिया’ हेर्न गएको ठानेर तत्कालै खोजतलास नगरेका उनका परिवारले अर्को बिहानसम्म पनि घर नफर्किएपछि भने खोजतलास सुरु गरेका थिए । यही क्रममा परिवारका सदस्य वडा अध्यक्ष महतोकहाँ पुगेका थिए। त्यतिबेला मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएको पाइएको हो। हिन्दीमा लेखिएको उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो। साथै, प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष महतोसहित स्थानीयले आफ्नो स्तरबाट खोजतलास सुरु गरेका थिए। तर, आज बिहान घर नजिकै बालकको शव भेटियो।
घटनास्थलमा कुकुरसहितको प्रहरी टोली पुगेको र प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी गरिरहेको जनाइएको छ ।