November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

रुबी साह हत्या प्रकरणका मूख्य आरोपी लक्ष्मण पासवानको मृत्यु

735

काठमाडौं । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । बुधबार आत्मदाह प्रयास गरेका उनको उपचारको क्रममा कीर्तिपुरको बर्न अस्पतालमा मृत्यु भएको हो ।

गत शनिबार राति गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका– ९ मुडवालगेटस्थित सडकमा सुडकेसभित्र राखिएको अवस्थामा रौतहटको माधवनारायण–६ माधोपुरकी ३० वर्षीया रुबी साहको शव भेटिएको थियो । माधवनारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी साहको हत्यापछि अनुसन्धान थालेको प्रहरीले पासवानलाई आज पक्राउ गरेको थियो ।

रुबी साहको हत्याको अनुसन्धान गर्दै जाने क्रममा प्रहरी पासवानको कोठासम्मै पुगेको थियो । हत्यापछि फरार रहेका पासवान बुधबार एउटा भिडियो सन्देश बनाएर सार्वजनिक गरिसकेपछि आत्मदाह गर्दैगर्दा पक्राउ परेका थिए । पक्राउ गरी उपचारका लागि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेकै आरोपमा पक्राउ परेको खुलेको छ । भिडियोमा रुबीको हत्या आफूले गरेको स्वीकार गरेका उनी त्यतिबेलै अपहरण तथा शारीरिक बन्धक, मानव बेचबिखनमा मुद्दामा १७ दिन हिरासत बसेको खुलेको छ । लक्ष्मणले रुबीलाई १४ वर्षको उमेरमा भगाएर भारत लगेका थिए । त्यसपछि रुबीको परिवारले लक्ष्मणसहित ३ जनाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए ।

माधवनारायण–६ माधोपुरस्थित घरबाट २०६८ पुस २४ गते साँझ रुबी बेपत्ता भएकी थिइन् । परिवारका सदस्यले खोजतलास गर्दा फेला परिनन् । छिमेकी लक्ष्मण पासवानसमेतले घर छाडेको थाहा पाएपछि ध्यान उतै केन्द्रित भयो । भोलिपल्ट जिल्ला प्रहरी कार्यालय गौरमा लक्ष्मण, उनका काका बैजनाथ हजरा र भिनाजु खजान्ची पासवानविरुद्ध रुबीका परिवारले अपरहण तथा शरीर बन्धक, मानव बेचबिखन कसुरमा जाहेरी दर्ता गराएका थिए । लक्ष्मणले रुबीलाई अपहरण गरी भारतको चण्डिगढमा राखेको परिवारको आरोप थियो । दुवै भारत बसेर केही समयपछि सर्लाही जिल्ला अदालत गई २०६९ साउन १५ गते फर्जी कागज बनाएर विवाह दर्ता गराएका थिए । त्यसपछि रौतहट आएका बेला लक्ष्मण पक्राउ परेका थिए । त्यसबेला रुबीको उमेर १४ वर्षको मात्र रहेको रुबीको परिवारको दाबी छ । तर पासवानले भने आफूहरू प्रेममा रहेको र विवाह गरेको तर रुबीको परिवारले उनलाई खोसेर लगेको भिडियोमा आरोप लगाएका छन् । उनले रुबीको आमा र उनका परिवालाई कारबाही गर्नुपर्ने बताएका छन् ।

झन्डै २ वर्ष मुद्दा खेपेका लक्ष्मणलाई २०७१ मंसिर २५ गते अदालतका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले सफाइ दिएको र अदालतबाट सफाइ पाएपछि पासवान दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको खुलेको छ । रुबीको हत्या गर्नुभन्दा डेढ साताअघि मात्र लक्ष्मण मलेसियाबाट आई गौरमा डेरा लिई बसेका थिए ।