काठमाडौँ । कवि उमेश अकिञ्चनको नयाँ कवितासंग्रह ‘सायद किनाराहरू’को शनिबार काठमाडौंमा लोकार्पण भएको छ । रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुइँटेल र समीक्षक राजकुमार बानियाँले कवितासंग्रह विमोचन गरेका हुन् ।
कवितामाथि बोल्दै कवि श्रवण मुकारुङले भने ‘कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको छ, कविता कुनै धारणाभित्र मात्रै सिमित रहँदैन, किनकि कविता आविष्कार हो । अकिञ्चनले कवितामा नौलो विम्बहरू, भाव र संसारको आविष्कार गरेका छन् ।’
वर्तमान कविता मुक्त छन्दमा लेखिन थालेको बताउँदै मुकारुङले थपे ‘अबको कविले आफ्नै विम्ब निर्माण गर्नुपर्छ र कविले कवितामा बौद्धिक कसरत पनि गर्नुपर्ने समय आएको छ, तब मात्रै कवि र पाठक दुवैको ज्ञानको दायरा पनि फराकिलो हुनसक्छ ।’
कवि विमला तुम्खेवाले तीन दशकदेखि कविता–कर्ममा तल्लीन कवि अकिञ्चनका कविताले समयको कुरुप पक्षमाथि प्रहार गरे पनि ती अत्यन्तै शालीन ढंगले लेखिएको र तिनले समयसँग संवाद गरेको सुनाइन् ।
कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री मानवीर राईले कविता र कविले समाज रूपान्तरणमा गम्भीर भूमिका खेल्ने बताए । ‘कविहरू आफू मात्रै नभइ समाजलाई नै सचेत गराउँछु भनेर क्रान्तिकारी सोच लिएर हिँडेका हुन्छन्’, उनले भने, ‘देशलाई सही दिशामा ल्याउन कवि–साहित्यकारको इतिहासदेखि नै योगदान छ । कवि र कविताले समाजलाई नै दिशा प्रदान गर्न र सहयोग गर्छ ।’
कार्यक्रममा अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ बाट कविहरू डा. स्मिता श्रेष्ठ र रिमा केसीले एक–एकवटा कविता पनि वाचन गरेका थिए ।
यसअघि एक सागर दुई तारा (संयुक्त गीत सङ्ग्रह, २०६४), मोनालिसा र मार्च ८ (कविता संग्रह, २०६८) ल्याइसकेका अकिञ्चनको ‘सायद किनाराहरू’ तेस्रो काव्यकृति हो । इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ५४९ रुपैयाँ रहेको छ ।