November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इमानसिङ चेम्जोङलाई मरणाेपरान्त काङ्साेरे पुरस्कार प्रदान

950

६ जुलाई, विजयपुर । तीन बर्षको अन्तरालमा प्रदान गरिने काङ्सोरे पुरस्कार यस वर्ष मरणोपरान्त स्वर्गीय ईमान सिं चेम्जोङलाई प्रदान गरिएको छ । 

लिम्बुवान नागरिक समाज युकेले शनिबार धरान १५ स्थित चुम्लुङ हिममा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार वितरण कार्यक्रममा स्वर्गीय चेम्जोङ्का कान्छा छोरा अवकाशप्राप्त बिग्रेडियर जनरल मोहन सिं चेम्जोङले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश एकका पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द बहादुर तुम्बाहाङले पुरस्कार राशी एक लाख र ताम्रपत्र प्रदान गरेका थिए । पुरस्कार छनौट समितिका सदस्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र कुरुम्बाङले स्वर्गीय चेम्जोङको जीवनीमाथी प्रकाश पारेका थिए भने छनौट समितिका अर्का सदस्य नरप्रसाद लुम्फुङवाले छनौट प्रक्रियाबारे प्रकाश पारेका थिए ।

Advertisement

सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व स्वर्गीय चेम्जोङका छोरा मोहन सिंह चेम्जोङ, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा.कमल तिगेला, सदस्य संगीता सुब्बा, याक्थुङजन्य संघ संस्थाको तर्फबाट सेसेमी सेनाल्बो, आदिवासी जनजाती महासंघ धरानका अध्यक्ष हेमराज जिमी, राजनीतिकर्मी ताजुब लिम्बू, जेन्टल लावतीले पनि सम्बोधन गरेका थिए । 

आयोजक समाजका अध्यक्ष छत्र वनेमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रतिनिधि एवं सन्चारकर्मी निलिफा सुब्बाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको व्यवस्थापन किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला र धरान उपमहानगरले गरेको आयोजक समाजका सचिव अमित थेवेले जानकारी दिए ।

समाजले सन् २०२२ (वि.सं.२०७९) मा पहिलो पटक याक्थुङ भाषा, सिरिजङ्गा लिपिको प्रचार र चार दशकदेखि लिम्बुवानको मुद्दा उठाउन सक्रिय भूमिका खेलेबापत् पान्थर याम्बोङका नेता वीर नेम्वाङलाई प्रदान गरिएको थियो ।

लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढङ्गले साढे एक दशकदेखि क्रियाशील रहेको लिम्बुवान नागरिक समाज यूके सन् २००९ मा बेलायतमा स्थापना भएको हो । लिम्बुवान प्राप्तिका लागि उल्लेख्य योगदान पुर्‍याउँदै आएका एक व्यक्तित्वलाई काङ्सोरे पुरस्कार प्रदान गरिँदै आएको छ ।