November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इलाममा अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण

630

इलाम । इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

वर्षैदेखि बसोबास गर्दै आएका शान्तिपुरका ७२ अव्यवस्थित बसोबासीलाई मङ्गलबार जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको अध्यक्ष अधिकारीले बताए ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजालले भूमिहीन दिलबहादुर सुब्बालाई लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले शान्तिपुर पुगेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको हो ।

Advertisement

रोङ गाउँपालिकामा दुई सय १२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा एक सय ५० जनाको निर्णय भएको अध्यक्ष अधिकारीले बताए । जसमध्ये ७२ जनाले मङ्गलबार लालपुर्जा पाएका छन् । बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने उनले बताए ।

रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए । ‘आयोगको काममा हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरुले समेत जिम्मेवारपूर्ण तरिकाले सघाईरहेका छौं,’ उनले भने, ‘सबैको सहयोगमा कामले तीव्रता पाएको छ ।’ सरकारले अघिल्लो आयोग विघटन नगरेको भए १ वर्ष पहिल नै रोङका सबैले लालपुर्जा पाइसक्ने उनको भनाई थियो ।