काठमाडौं । सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही/कार्यप्रगति र आगामी आर्थिक वर्षको बजेट÷कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारी बारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग छलफल गर्ने तयारी छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची छ ।