काठमाडौं । दिलमाया फाउण्डेसनले फरकफरक क्षेत्रका ६ जना युवाहरुलाई सम्मान गरेको छ । हङकङमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका युवाहरुलाई सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष खुशी लिम्बुले जानकारी दिए ।
आइतबार साँझ जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा दिलमाया मेमोरियल फाण्डेसनको अक्षयकोष स्थापनार्थ ‘दिलमाया च्यारिटी सांगीतिक साँझ’ कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा फाण्डेसनले कवि तथा लेखक जूनु दिव्या रानालाई ‘साहित्य तथा सामाजिक प्रभावमा उत्कृष्टता पुरस्कार– २०२५’, संचारकर्मी अनोज रोक्कालाई ‘पत्रकारिता तथा संचार पुरस्कार–२०२५’, संस्कृति अभियन्ता चापेता सेर्मालाई ‘परोपकारी उत्कृष्टता पुरस्कार–२०२५’, व्यवसायी अभिषेख बराललाई ‘युवा उद्यमशीलता पुरस्कार–२०२५’, संगीतकर्मी साक्थिम योङ्यालाई ‘म्युजिक अवार्ड–२०२५’ र खुशी गुरुङलाई ‘कम्युनिटी इन्गेज–२०२५’ द्धारा सम्मानित गरेको हो । गुरुङ कार्यक्रममा अनुपस्थित थिईन् ।
सम्मानितहरुलाई फाउण्डेसनका अध्यक्ष खुशी लिम्बु, कार्यक्रमकी प्रमुख अतिथि अरुणा गुरुङको बाहुलीबाट ट्रफी र सम्मानपत्र प्रदान गरी खादा अर्पण गरिएको थियो ।
अवार्ड सेसनलाई चलचित्र निर्देशक युगल पोमुले सहजीकरण गरेका थिए ।
सम्मान प्रदान गरिसकेपछि प्रमुख आतिथि गुरुङले फाण्डेसनले आयोजना गरेको अवार्ड सेरेमोनी एकदम राम्रो लागेको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘हङकङमा हामी काम गर्न आएको हौं । यसरी दुःख गरेका छौं । तर पनि हामीले बिजनेस, लिटरेचरमा, पत्रकारितामा काम गरिरहेका छौं । वहाँहरुले फुर्सदको बेला पनि गरिराख्नुभएको छ । यतिसम्म अचिभमेन्ट गरेको कुरा आज यसरी अवार्ड सेरेमोनीमा वहाँहरुको योगदान सुन्न पाउँदा धेरै खुशी लागेको छ ।’
सम्मानित व्यक्तित्वहरू बारे:
जुनु राना
दिलमाया फाउण्डेसनद्धारा ‘साहित्य तथा सामाजिक प्रभावमा उत्कृष्टता पुरस्कार– २०२५’, शीर्षकमा सम्मानित ‘कवि, लेखक तथा समाजसेवी जूनु राना स्वः बुबा देवेन्द्र राना र आमा प्रेमकुमारी रानाबाट बागलुङ जिल्लाको जैमनी नगरपालिका वडा नं. ९ पैयुथन्थापमा जन्मिएकी हुन् ।
जूनु किशोरावस्था टेक्दानटेक्दै सन् १९९८ मा हङकङ प्रवेश गरेकी थिइन् । भूपू गोर्खाको सन्तानको रुपमा हङकङमै बसोबास गर्न थालेकी रानाले हङकङबाट साहित्यमा कलम चलाउन सुरु गरेकी हुन् । उनी कविता, कथा, निबन्ध, नियात्रा र संस्मरणहरुमा कलम चलाइरहेकी छन् । युवा पुस्ताकी सशक्त हस्ताक्षर रानाको कवितामा विषेशतः उत्पिडन, सामाजिक विषमता, विसंगतीहरू, प्रेमभाव र नारी अस्मिता पाइन्छन् ।
२०८१ मा ‘रातो नदी’ कवितासंग्रह प्रकाशित गरेकी राना दोस्रो कृति ‘लाहुरेनी सौन्दर्य’को तयारीमा जुटेकी छन् । समाजसेवा समर्पित रानाले व्यक्तिगत तथा संस्थागत रुपबाट गरिब, दुःखी, असहायाहरुको सेवा गर्दै आइरहेकी छन् । उनी विभिन्न अनलाइन पत्रिकामा आलेखहरु लेख्ने गर्छिन् ।
रानकाको योगदानलाई कदर गर्दै सन् २०१७ मा सातौं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर एनआरएनए हङकङ र हङकङ महिला संघले साहित्य विधामा सम्मान गरेको थियो । सन् २०२३ मा मगर संघ हङकङले सम्मान गरेको थियो भने ‘रातो नदी’ संग्रह प्रकाशनमा आएपछि पनि सम्मान गरेको थियो । जूनु मगर संघ हङकङको महिला विभाग उपाध्यक्ष छिन् । रानालगायतको सक्रियतामा हङकङ साहित्य शृङ्खला संचालित छ ।
अनोज रोक्का
दिलमाया फाउण्डेसनद्धारा ‘पत्रकारिता तथा संचार पुरस्कार–२०२५’ शीर्षकमा सम्मानित अनोज रोक्काको जन्म बाबा विष्णुकुमार रोक्का र आमा अमृता रोक्काबाट वि.सं. २०४७ सालमा मोरङ जिल्लाको सिजुवामा भएको हो । हङकङमा पत्रकारिता गर्दै आएका रोक्काका परिवार हाल मोरङको कानेपोखरी गाउँपालिका वडा नं ४ मा बसोबास गर्छन् ।
त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा मास्र्टस गरेका रोक्काको औपचारिक पत्रकारिताको यात्रा सन् २०१० देखि भित्तेपत्रकारिताबाट शुरु भएको थियो । उनी शिक्षण पेशासँगसँगै रेडियो ईन्द्रेणीमा आवद्ध थिए । राष्ट्रिय पत्रिका नागरिक दैनिक, कान्तिपुर साप्ताहिकसँगै स्थानिय पत्रपत्रिका र रेडियोहरुमा उनको सक्रिय उपस्थिति थियो ।
अनोज रोक्का सन् २०१५ मा हङकङ प्रवेश गरेका हुन् । प्रवास भूमिमा पनि उनको कलम रोकिएन । हङकङबाट कान्तिपुर साप्ताहिकमा लेख रचना र समाचारहरू प्रकाशन र प्रशारण भइरह्यो । मज्जाको टिभी युटयुव च्यानलबाट पाँच सय बढी हङकङ आएका कलाकारहरुको रमाईलो अन्र्तवार्ता पनि लिए, जुन अहिलेपनि आर्काईभमा सुरक्षित रहेको उनी बताउछन् । हाल अनोज अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा आवद्ध छन् ।
नेपाल र हङकङलाई शब्दमार्फत जोड्ने मुख्य उद्देश्यसहित निरन्तर पत्रकारितामा समर्पित रोक्का यसअघि नेपाल सरकार सू्रचना तथा संचार मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डद्धारा ‘पत्रकारिता सम्मान पुरस्कार’, हङकङ नेपाली महासंघद्धारा ‘पत्रकारिता सम्मान पुरस्कार’ र हङकङ नेपाली महावाणिज्यदूतावासद्धारा ‘पत्रकारिता सम्मान पुरस्कार’ बाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
पत्रकारिता क्षेत्रमा अनोज रोक्काले दिएको महत्वपूर्ण योगदानको कदर गर्दै दिलमाया फाण्डेसनले सम्मान गर्दैगर्दा रोक्काले भने, ‘यो यात्राको लागि तपाईं सबैप्रति कृतज्ञ छु ।’
खुशी गुरुङ
दिलमाया फाउण्डेसनद्धारा ‘कम्युनिटी इन्गेज–२०२५’ शीर्षकमा सम्मानित खुशी गुरुङको जन्म नेपालको तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर २ मुछुकमा भएको हो ।
खुशी गुरुङको बाल्यकालको सपना खेल खेल्ने र गीत गुन्गुनाउने थियो । सपनालाई साकार तुल्याउदै उनले भलिबल तर्फबाट क्षेत्रीय र एथ्लेटिक्समा तीनपटकसम्म राष्ट्रिय खेल खेलिन् । वि.सं. २०५२ सालमा झापाको चन्द्रगढीमा तेस्रो राष्ट्रिय खेल, वि.सं. २०५४ सालमा नेपालगञ्जमा चौथो खेल खेलिन् । पाँचौं खेलले उनको खेल जीवनको ट्रयाक बदलिदियो । वि.सं. २०५८ साल जेठ १९ गते त्रिपुरेश्वर रंगशालामा तत्कालिन अधिराजकुमार दिपेन्द्र वीर बिक्रम शाहले खेलको उद्घाटन गरे । उद्घाटन सकेर दरबार फर्किएका थिए दिपेन्द्र । सोही दिन तत्कालिन राजा विरेन्द्र वीर बिक्रम शाहको वंशनास हुने घटना घट्यो । त्यो खेल गुरुङको अन्तिम खेल बन्यो । साँझ कफर््यु लाग्यो । खेलाडीहरुलाई जसोतसो घर फर्किने वातावरण मिलाइयो तर गुरुङ आवद्ध टोलीका धेरैजसो मैदानमा फर्किएनन् । प्रायः सबै प्रवासतिर लागे ।
सपनाहरुका बिट मार्दै सन् २००० मा हङकङ प्रवेश गरेकी खुशी सामाजिक कार्य गर्दै आइरहेकी छिन् । व्यक्तिगत र संस्थागत रुपमा कैयौं दुःखी, गरिब, असहायहरुका सहारा बन्दै आएकी गुरुङमा अझैं खेल र खेलाडीहरुप्रति प्रेम छ । अहिले पनि गाउँतिरका क्लबहरुलाई खेल सामग्रीहरू उपलब्ध गराउदै आएकी छिन् ।
गुरुङले दुई वर्ष तनहुँ समाज हङकङको कार्यसमितिमा रहेर काम गरिन् । अहिले सदस्य छिन् । संघसंस्था भन्दा पनि उनको लगाब बालबालिकातिर देखिन्छ । सन् २०१५ मा अनाथ बालबालिकाहरुको कथामा आधारित नेपाली चलचित्र ‘चकलेट’ निर्माण गरेकी थिइन् । यो फिल्म नेपालका सिनेमा घरहरुमा प्रर्दशन भएको थियो । जसलाई अहिलेसम्म युट्युबमा ६८ लाख भन्दा धेरैपटक हेरिएको छ । अब गुरुङ संस्कारसंस्कृतिमा आधारित नेपाली फिल्म बनाउने तयारीमा छिन् । भविष्यमा एउटा राम्रो कथाकार बन्ने उनको सपना छ ।
खुशीले सन् २०१३ मा हङकङका बालबालिकाहरुलाई समेटेर यु मा ताइ कक्युनिटी हलमा ‘काइरा फेशन शो’ गरेकी थिइन् । यो उनको पहिलो फेशन शो थियो । जसमा नेपाल र चीनका फेसन डिजाइनर थिए । यस्तै २०१६ मा सरिता गुरुङ फाउण्डेसनको सहयोगका लागि च्यारिचटी डिनर, २०१८ मा सागर धमाका शो गरेकी थिइन् । हालसालै मात्रै नेसनल वाल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हङकङका कलाकारितामा रहेकालाई समेटेर ‘मेरो भोइस युनिभर्स र मेरो डान्स् युनिभर्स’मा संयोजकको भूमिका निर्वाह गरेकी छन् । जसमा हङकङबाट भोइसतर्फ ५ र डान्समा ५ जना गरी १० जना छनौट भएका थिए ।
चापेता सेर्मा
दिलमाया फाउण्डेसनद्धारा ‘परोपकारी उत्कृष्टता पुरस्कार–२०२५’ शीर्षकमा सम्मानित चापेता सेर्मा (बुद्धिराज सेर्मा) सांस्कृतिक अभियन्ता हुन् । उनी भूतपूर्व गोर्खा सैनिक पिता स्वः सुख बहादुर सेर्मा र आमा स्वः जसमाया सम्बाहाम्फेबाट सन् १९७० मा हङकङमा जन्मिएका हुन् । ५ वर्षको हुँदा नेपाल फर्किएका सेर्मा झापा जिल्ला शिवसताक्षी डुँडामारीस्थितको २२ वर्षको नेपाल बसाई पश्चान सन् १९९७ मा पुनः हङकङ फर्किएका थिए ।
अन्ततः कर्मभूमितर्फ फर्किएका सेर्माले दुईदशक विताएको मातृभूमिलाई सधैं शीरोपर गरे । मातृभूमिलाई दुख्दा दुःखाई महसुस गर्ने उनले व्यक्तिगत रुपमा दुःखी, गरीब, असहाय, पीडितहरुलाई सहयोग पु¥याउदै आएका छन् । शिवसताक्षी हङकङ समाजका आजीवन सदस्य सेर्माले शिवसताक्षी नगरपालिमा सिरिजङ्गा लिपिमा निवासको बोर्ड राख्नुपर्ने अभियान सुरु गरे । जसअन्तर्गत वडा नम्बर ७, ८, ११ मा बोर्ड राखियो । लिम्बु तथा गैरलिम्बु सबैको घरमा सिरिजङ्गा लिपिमा बोर्ड राख्नुपर्ने अभियान अन्तर्गत ८ नम्बर वडाका सबै घरधुरीमा राखिएको छ । ‘हामी भाषा बोल्छौं, तर लिपि बुझ्दैनौं । लिपि पनि जान्नुपर्छ भन्ने उदेश्यले यो अभियान सुरु गरिएको हो’, चापेता भन्छन् ।
सेर्माले स्वः मातापितााका नामा दुईवटा विद्यालयमा अक्षकोष स्थापना गरेका छन् । डुँडाबारीस्तिथ श्री बालसेवा आधारभूत विद्यालय र श्री भगवती आधारभूत विद्यालयमा ५१ हजारको अक्षयकोष स्थापना गरेका हुन् । यी विद्यालयहरुमा ‘आनी पाःन्’ लिम्बु भाषाको पाठ्यक्रम पढाई गरिन्छ । यो चापेताकै पहलमा भएको हो । ‘आनी पाःन्’ मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई २०८१ सालदेखि ८३ सम्म पुरस्कृत गर्ने पनि उनले घोषणा गरेका छन् ।
भाषा र संस्कृतिमा समर्पित सेर्मा ‘किरात याक्थुङ्ग पापोहाङ्ग सेर्मा, सम्जुम्भो’, ‘फेस नेपाल’, ‘फाल्गुनन्द नोमाङेना सेवा संघ’, ‘फक्तालुङ सास्कृतिक मंच’, ‘श्री बालसेवा आधारभूत विद्यालय’, श्री भगवती आधारभूत विद्यालय’, ‘डुँडामारी,प्रगतिशील क्लब’, ‘कठहरे कृषि सहकारी सस्था’लगायत विभिन्न संघसंस्थाहरुबाट सम्मान तथा कदरपत्र प्राप्त गरेका छन् ।
यसरी वर्षौंदेखि समाजसेवा र सांस्कृतिक अभियानमा जुटेका सेर्मालाई दिलमाया फाउण्डेसनले सम्मान गरेको छ । यस निर्णयमा चापेता भन्छन्, ‘सांकृतिक अभियानकर्तालाई पनि सम्झिएकोमा खुशी लागेको छ ।’
साक्थिम योङ्या
दिलमाया फाउण्डेसनद्धारा ‘म्युजिक अवार्ड’ शीर्षकमा सम्मानित साक्थिम योङ्या (भुपेन्द्र)को जन्म बुबा देउकुमार लिम्बु र आमा स्वः गंगादेवी नेम्बाङबाट नेपालको पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिकामा भएको हो । पछिल्लो समय उनका परिवार धरानमा बसोबास गर्दै आएका छन् ।
बाल्यकालदेखि नै गीतसंगीतमा रुची रहेका योङ्याले बालगीत पनि गाएका थिए । वि.सं. २०५८ सालमा धरानस्थित श्री सरगम सङ्गीतालयबाट सारेगमप सिक्न सुरु गरेका उनले विभिन्न जिङ्गल, विज्ञापन हुँदै लिम्बु भाषाका गीतहरु गाउने अवसर पाए । वि.सं. २०६१ सालमा धरानमा पहिलो गीत ‘मेन्जोके आनी मेम्बोङ्ना वारो’, रेकर्ड गराए पश्चात् ‘याम्मो तुमिना’, ‘माङ्निसा’, ‘निसुम’, ‘नादङ’, ‘तुम्दुङ’लगायतका याक्थुङ गीति एल्बममा संगीत भर्नुका साथै दर्जन बढी गीतहरुमा स्वर दिए ।
वि.सं. २०६७ सालमा ‘गाउँमै तन्नेरी’ पुर्बेली दोहोरी एल्वमा काम गरेपछि सङ्गीतकार बन्ने जमर्को गरेका उनले ‘बजारिया माया’, ‘एकै जुनी’ लगायत ५० वटा गीतमा सङ्गीत भरेका छन् । चाँडै नै सयवटा पुर्याउने उनको लक्ष्य रहेको छ । ‘धान नाँचौ घुमेर’, ‘बजारिया माया’ साक्थिमका चर्चित गीतहरू हुन् ।
पछिल्लो समय ‘धरान शहर–२०७९’ उनको सर्बाधिक सफल र चर्चामा रहेकोे गीत हो ।
सन् २००९ को अन्त्यतिर हङकङ प्रवेश गरेका उनी पछिल्लो समय हङकङमा रहेर गीतसंगीतमा योगदान दिँदै आइरहेका छन् । ‘मनमा संगीत र हङकङ बसाईबीचको द्धन्द्ध थियो । अन्त्यमा हङकङ रोज्नुपर्ने भयो । परिवार वारी र पारी हुने स्थिति आयो’, योङ्या भन्छन् ।
योङ्याको संगीतमा देशका चर्चित गायकहरू राजेश पायल राई, आभा मुकारुङ, दिपक लिम्बू, सञ्जय तुम्रोक, दिपा सुहाङ लगायत दर्जनौं गायकगायिकाहरुले स्वर दिएका छन् ।
अहिलेसम्म गीतसंगीतबाट प्राप्त पारिश्रमिक डोनेसनमै खर्च गरेको योङ्याको दाबी छ । उनले व्यक्तिगत रुपमा अनाथलय, विद्यालय, गरिब, असाहायहरुलाई सहयोग गर्दै आएका छन् ।
विभिन्न राष्ट्रिय सम्मानद्धारा सम्मानित भइसकेका साक्थिम योङ्याको योगदानलाई कदर गर्दै दिलमाया फाउण्डेसनले उनलाई सम्मान गरेको हो ।
अभिषेख बराल
दिलमाया फाउण्डेसनद्धारा ‘युथ इन्टरप्रेनर अवार्ड’ शीर्षकमा सम्मानित अभिषेख बरालको जन्म सन् १९९१ मा बुबा राजेश बराल र आमा साबित्रा बरालबाट रुपन्देही जिल्लाको बुटवलमा भएको हो ।
पुर्ख्यौली व्यवसायीक घरानामा हुर्किएका बराल बाल्यकालदेखि व्यवसायी या आर्मी बन्ने सपना देख्ने गर्थे । अन्ततः उनले पुर्ख्यौली व्यावसाय सम्हाले । नेपालमा ‘शान्तिपुरे गुल्मेली सुनचाँदी पसल’ संचाल गरेका उनले सन् २०१५ मा हङकङ प्रवेश गरेपछि हङकङमा ‘चन्द्रकोट ज्वेलर्स’, अष्ट्रेलियामा सोही नामका ३ ज्वेलर्स, दुबईमा १ गरी ५ वटा शाखाका रुपमा संचालित छन् ।
गुल्मी समाज हङकङ र बुटवल सेरोफेरोमा आवद्ध उनी व्यवसायमै व्यस्त रहन्छन् । करिब ३ वर्षदेखि नयाँ पिढीका युवाहरुलाई ज्वेलर्सका तर्फबाट स्पोन्सर गर्दै आएका छन् । विशेषगरी फुटबल क्लबलाई गर्दै सहयोग गर्दै आएका छन् । व्यक्तिगत रुपमा भने नेपालमा हुने विभिन्नि प्राकृतिक प्रकोप पीडित र दिनदुखीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।