प्रिया मेरो बाल्यकालबाट यौवनअवस्थासम्मको मिल्ने साथी ।
जहाँ म त्यहिँ ऊ, जहाँ ऊ त्यहिँ म ।
कलेज जीवन शुरू हुनासाथ उनको जीवनमा प्रेम आउछ र हामी मिल्ने साथी दुईबाट तीन हुन्छौं ।
प्रेम र प्रियाको हरेक कुराहरू मबाट गोप्य कहिल्यै रहदैन ।
एक दिन डक्टर विवेक प्रियालाई माग्न विवाह प्रस्ताव लिएर आउछ ।
विवेक पेशाले डक्टर देख्दा स्मार्ट बोलचालमा लाग्थ्यो स्वाभाव पनि राम्रो ।
प्रेम र प्रिया मेरो मिल्ने साथी भएता पनि उनिहरूकै भविष्यको लागि प्रियालाई सम्झाएँ– “हेर प्रिया ! मम्मी बाबालाई तिम्रो विवाहको हतार छ, प्रेम र तिम्रो अहिले विवाह गर्ने अवस्था छैन प्रेम भर्खर पढ्दै मात्र छ, सधैभरि मायाले मात्र त पुग्दैन अहिलेको जमानामा हेर मन्दिरदेखि मसानघाटसम्म पैसाकै कुरा आउछ ।”
विवेक ठिकै पनि लाग्यो –“सक्छौ भने प्रेमलाई भुलेर विवेकको विवाह प्रस्ताव स्वीकार, अतीत सबैको हुन्छ प्रेमसँगको प्रेमलाई मिठो अतीत बनाईदेउ ।”
म प्रेमलाई सम्झाउछु उ मेरो पनि त साथी हो निस्वार्थ प्रेममा उस्ले अवश्य त्याग गर्नेछ ।
“मम्मी बाबालाई तिमी र प्रेमको सम्बन्ध पनि त ठीक लागेको छैन, तिम्रो दुखी जीवन उहाँहरूले कतै चाहनु हुन्न, प्रिया तिमीले मम्मी बाबाको आँशु र श्राप हैन आशिर्वाद लिने कोसिस गर तिमीलाई थाहा छ आँशुले पोल्छ नि ।”
मेरा यि सबै कुराहरूको जवाफ प्रियाले एकै साथमा दिईन् –“मैले चाहेर प्रेमलाई प्रेम गरेको थिईनँ तर सामिप्यले प्रेम गाढा हुनेरहेछ । जति समिप आयौं, उति उति म प्रेमको प्रेममा डुब्दै गए डुब्दै गए यति गहिराईमा डुबिसकेछु कि अब म सतहमा उत्रनै सक्दिनँ । अब म प्रेमबिनाको जीवन सोच्न पनि सक्दिनँ । मेरो कुनै ठुलो सपना छैन म पूर्ण गृहणी हुन चाहन्छु श्रीमानको सानो सरकारी जागिर सानो घर, छोराछोरी, म, उनिहरूको स्यहार सुसार गर्दै घरलाई मन्दिर बनाउन सकु बसुँ ।”
पैसाले पूर्ण जीवन मलाई खासै मन पर्दैन जब मानिसका प्रत्येक आवश्यकताहरू पुरा हुन थाल्छन् अनि उनिहरूको जीवनमा अनावश्यक सोचाईहरूको सृजना हुन थाल्छ ।
आफू आफैँमा ब्यास्त हुन थाल्छन् । श्रीमान श्रीमती छोराछोरीहरूको खानपान उठबस, उद्देश्यहरू अलग हुन थाल्छ, आफूआफैँमा ब्यस्त रहनाले परिवार पनि परिवारजस्तो रहन छाड्छ । जब परिवार नै तितरबितर भएपछि त्यो परिवारको के अर्थ ? पैसाको के अर्थ?
“हेर साथी त्यसैले म अभावमै ज्युन चाहन्छु जहाँ सम्बन्धको परिवारको वा हरेक चिजको महत्व भईरहोस् ।”
प्रियाको सोचमा सहमत भई एकदिन उनको मम्मी बाबाले थाहै नपाई काठमाण्डौको बसमा चढाईदिए प्रेम र प्रियालाई ।
काठमाण्डौको बसाई प्रियाले छोरा अनन्तलाई जन्म दिन्छिन् ।
हाम्रो बसाई गाँउ र शहर भेट हुन गारो, एकदिन प्रियालाई फोन गरेँ –“हेल्लो प्रिया आजकल तिमीहरूको के छ खबर ? खुशी त छौ नि ?”
“सब ठीक छ साथी तर प्रेम अफिसको कामले उपत्यका बाहिर गएकोछ उ बिना म निदाउनै सक्दिनँ त्यहि भएर रातमा अलिकति गारो छ बस् ।”
प्रेम र प्रियाको यस्तो प्रगाढ माया देखेर म खुशीले गदगद भए ।
तर काठमाण्डौको बसाई, नेपालको कमाईले तीनजना परिवार पाल्न धौ धौ त हुने नै भयो । यसैबेला प्रेमले हङकङको आइडि फेला पार्छन् । हङकङ गएर सबै परिवार हङकङमा नै सेटल हुने सल्लाहले केहि समयको लागि छोरा अनन्तलाई काठमाण्डौ होस्टलमा छाडी प्रेम र प्रिया हङकङ लाग्छन् ।
लामो प्रोसेस गर्दा पनि अनन्तको हङकङ आईडी नमिलेर उ होस्टलमै हुन्छ ।
बेलाबेला काठमाण्डौ आउदा म अनन्तलाई भेट्ने गर्छु ।
“आन्टी मम्मी बाबाको सारै याद आउछ विशेष बिरामी हुँदा मम्मीलाई सम्झन्छु स्कुलमा सबैको अभिभावक आउनु हुन्छ । म चाहिँ टुहुराजस्तो सधैँ एक्लै हुन्छु ।”
दुखेसो पोख्छ मसँग अनन्त ।
“धैर्य गर छोरा मम्मीबाबा तिम्रो भविष्यकै लागि त विदेशिनु भयो, नदिहरू जसरी हजारौ चट्टानहरूसँग ठक्कर खाँदै भए पनि गन्तव्यमा पुगेरै छाड्छन् । तिमी पनि धैर्य गरेर नदिहरू जसरी धर्य गरेर बहनु, एकदिन तिमीले तिम्रो मम्मी बाबाको साथ र मायाको शितल छहारी पाउने छौं । सबैभन्दा ठुलो कुरा धैर्य हो बाबु ।” यति भनेर भारी मन लिएर म फर्कन्थेँ ।
उता हङकङमा भने कामको चाप, एक अर्कासँग समय नमिल्नाले एकै छतमुनि बसेर पनि प्रेम र प्रियाको दुरी बढ्न थाल्यो । फुर्सदको समयमा एकअर्कालाई बुझ्ने साथीको खोजिमा भौतारिन थाल्छन् । भेट हुँदा पनि ससाना कुराहरूमा झगडा हुन थाल्छ । कुनै समय एकअर्काबिना निद नआउने जोडी आजकल एकअर्कासँगै बस्न नसक्ने भईसक्छन् । एक अर्कासँग भेट्दा देख्दा अशान्ति हुन्छ भने सल्लाहले नै प्रेम र प्रिया अलग–अलग बस्ने निर्णय गर्छन् ।
एकदिन बिनाखबर प्रेम मेरो घरमा टुप्लुक्क आईपुग्छ । उ नेपाल आएको रहेछ । धेरैपछि भेटेर खुशी त लाग्यो तर उनीहरूको अवस्था सम्झेर मेरो उज्यालो अनुहारमा अन्धकार छायो ।
भनेँ, –“प्रेम सबै कुराले पूर्ण हामी कोही हुदैनौ । गल्ती तिमीबाट नि हुन्छ प्रियाबाट नि हुन्छ सम्झौता सबैभन्दा ठुलो कुरा हो । अब तिमीहरू मात्र पनि त छैनौ अनन्त छ । उसको सिङ्गो भविष्य छ तिमीहरूको यो हर्कतले सबैभन्दा धेरै असर तिमीहरूको सन्तानलाई पर्नेछ, तिमीहरू दुबैलाई बारम्बार भन्दैछु मिलेर बस प्लिज । मिलेर बस्न सक्दैनौ नै भने अनन्तलाई माया गर्ने दोस्रो विवाह गर न त अनन्तलाई परिवार र परिवारको माया चाहिएकोछ प्रेम । छोराछोरीको अभिभारा एउटी नारीले मात्र सधैँ बोक्नुपर्छ भन्ने छैन । पुरूष भएर जन्मदैमा बाबाले मात्र आफ्नो सन्तानलाई लालनपोषण गरेर हुर्काउन सक्दैनन र ?”
“मैले अनन्तलाई केही कुरामा कमी राखेको छुईनँ उसको हरेक ईच्छा चाहनाहरू पुरा गरिदिएकै छु त्यहाँबाट यसलाई के चाहियो र ? हङकङ लान कोसिस गर्दागर्दै पनि मिलेन के गर्नु, बस त्यति न हो । म दोस्रो विवाह गरेर चाहीँ समस्या उत्पन्न गर्न चाहन्न, जीवन ज्युन श्रीमती नै चाहिन्छ भन्ने हैन रहेछ ।”
प्रेमको कुराले म अक्क न बक्क भएँ र हङकङकै एउटी साथीले भनेको कुरा कानमा गुन्जियो –“साथी यहाँ पैसा छ भने सबथोक पाउछ घरमा थाकेर लखतरान भएका लुम्रेझुम्रे श्रीमतीहरू देख्दादेख्दा वाक्क भएका पतिदेवहरू गल्ली नै पिच्छे १५, १६ वर्षका सिँगारपटार गरेर उभिएका सुन्दरीहरू प्रसस्त पाउछन् । अनि, यहाँका अक्सर पुरूषहरू श्रीमतीबाट खासै खुशी हुदैनन् हौ ।
प्रेमलाई श्रीमती नचाहिनु पनि यहि कारण होला शायद ।”
प्रेम हङकङ फर्केको केही समयमा म पनि काम विशेषले उपत्यका हानिए, एकदिन हिँडिरहेको बेला नशाले लट्ठ एउटा गल्लीमा अनन्तलाई देखेँ, पहिले त हो कि हैन अलमल परेँ । पछि नियालेर हेर्दा अनन्त नै रहेछ ।
लामो लामो कपाल, कानमा कुण्डल, हातमा चुरोट ।
‘अनन्त ! अनन्त !!’
मैले तीनचारपल्ट बोलाउदामात्र उस्ले सुनेर खुट्टा लर्खराउदै सकिनसके उभिएर मलाई एकटक हेर्यो –“एऽऽऽ आन्टी पो हुनुहुदो रहेछ नमस्ते आन्टी ।”
म भक्कानिए आँशु थाम्नै सकिनँ । उसलाई अंकमाल गरेर भनेँ –“बाबु अनन्त तिमी किन यस्तो भयौ? तिमीले किन नशालाई साथी बनायौ? गलत बाटो किन समात्यौ बाबु किन?”
“आन्टी म मम्मी बाबाको यादमा धेरै तड्पिए । मम्मी गएबाट फर्केर आउनु भएन बाबा आउनु भएर पनि के खादैछ कहाँ जादैछ कसरी बस्दैछ मेरो बारेमा बुझने कोसिस नै गर्नु भएन । उहाँहरूले मलाई मायाको साटो पैसा दिनु भयो आन्टी पैसा ! आन्टी यो पैसा मैले के गर्ने ? किन र कहा राख्ने ?”
अनन्त भरखर १८ वर्ष मात्र पुग्दैछ । आमाबाबाको काखबाट होस्टल, होस्टलबाट डेरा अहिले त फोहोर गल्लि र पुल मुनितिर छ उसको बसाई । अहिले म प्रियाको भनाईहरू झलझली समझिरहेछु के उनले ति सब भुलेकै हुन त ? मलाई अति नै असहय भएपछि उनलाई लामो मयासेज लेख्छु –
‘प्रिया कुरा नभएको पनि धेरै भयो सन्चै छौ भन्ने आशा छ । आज अचानक गल्लिमा अनन्तसँग भेट भएबाट तिमीलाई दुईचार शब्द नलेखी रहन सकिनँ । मलाई सारै दुःख लागिरहेछ । मेरो प्रिय साथी अनन्तको जननीलाई हङकङले किन खोस्यो ? किन यति निस्ठुरी बनायो? देश गुनाको भेश भनिन्छ तर आफ्नो कर्तब्यबाट भाग्दै रातदिन लठारिन्दै डिस्को र बारहरू चाहरी हिड्नु एक नेपाली नारीको नैतिकताले पनि नदिनु पर्ने हो, तिम्रो चाहना तिम्रो महान सोचहरू के हङकङ पुग्ने बितिकै समुन्द्रमा बगाईदियौ? डक्टर विवेकको विवाह प्रस्ताव आउदा तिमीले भनेका कुराहरू एकपल्ट सम्झ त ! के तिमी त्यहि प्रिया हौ? हुन त तिम्रा आफ्नै विवशता, बाध्यताहरू होलान् तर अबको जिन्दगी तिम्रो मात्र हैन नि, तिम्रो खुनको एक अंश नेपालमा मृत्यूको बाटो हिड्दैछ । तिमी त आमा हौ जननी हौ आफ्नो सन्तानलाई चोट पर्दा आमाको छाती चर्किन्छ के कहिले तिम्रो छाति चर्किएन? कि कहिले महसुस गर्नै सकेनौ?’
‘छोरा छोरीको पहिलो पाठशाला आमाको कोख हो । आमाको काख हो सन्तानलाई सहिबाटो देखाउने काम पहिले आमाले गर्छिन् । त्यो तिमीहरू परिस्थिति अनुकुल थिएन तर पनि अझै केहि बिग्रिएको छैन तिमी कहा कुन अवस्थामा छौ अहिले मलाई पनि थाहा छैन तर यो म्यासेज पढेर नेपाल फर्किने कोसिस गर, आज तिम्रो सन्तान कुलततिर लागेर मृत्यूको बाटोमा हिड्दैछ ढिला नगरी उस्लाई फर्काउ, अबका दिनहरू तिमीहरूको मायाको निशानी अनन्तको लागि बाचिदेउ र अनन्तलाई पनि बचाउ । तिमी आफै दर्शनको कुरा छाट्ने मान्छे आफै बुझ्ने छौ मेरा शब्दहरू तुच्छ लागे साथी सम्झेर माफ गरिदिनु ।”
मेरो म्यासेज पढेर प्रिया नेपाल फर्किन्छिन् वा म्यासेज नै पढ्दिनन् ।
म भने नाईट बस चढेर लागेँ पुर्व, बसमा गीत बज्दैछ– ‘सोचेजस्तो हुन्न जीवन । जस्तो लेख्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन….. ।’