ललितपुर । मदन पुरस्कार विजेता भगिराज इङ्नामको दोस्रो अनुसन्धानात्मक पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ लोकार्पण भएको छ । शुक्रबार ललितपुरको नखिपोटस्थित किरात याक्थुङ चुम्लुङको भवनमा पुस्तक लोकार्पण गरिएको हो ।
कियाचुका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि मुन्धुमविद तथा मुर्धन्य कवि बैरागी काइला रहेका थिए भने विशेष अतिथि इतिहासविद प्राडा दिनेशराज पन्त र समिक्षकहरूमा लेखक तथा जनसंख्याविद प्राडा बालकृष्ण माबुहाङ, डा कमल तिगेला रहेका थिए । अतिथिमा कियाचुका महासचिव निरन्ती तुम्बापो रहेकी थिइन्। सर्जकसहित अतिथिहरूले सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा डा कमल तिगेलाले पुस्तकको चर्चा गरेका थिए। ‘यो लिम्बुवानको अभिलेख सङ्ग्रह’को लेखक भगिराज इङ्नामले यो पुस्तकमा दस्तावेजहरू संग्रहित गरेको बताए । उनले भने, ‘दस्तावेजहरू, अभिलेखहरू, शिलालेखहरू,ताम्रपत्रहरू वहाँले सङ्ग्रह मात्र गर्नुभएको छैन, यसको संक्षिप्त सार र टिप्पणी पनि लेख्नुभएको छ ।’
उनले यस पुस्तकलाई ५ भागमा विभाजन गरिएको भन्दै पाँचै खण्डबारे संक्षिप्त टिप्पणी गरेका थिए ।
यस्तै, पुस्तकबारे बोल्दै प्राडा माबुहाङले यो पुस्तक ‘लिम्बुवान जातिको इतिहास-२०७५’ अर्को खण्ड रहेको टिप्पणी गरे । को उनले भने, ‘यो पुस्तक भगिराज दाइले ल्याउनुभएको छ,यो वहाँको निजी लेखनबाट सिर्जना भएको सामग्री हैन। यो संकलित सामग्री हो । यसअघि मदन पुरस्कारबाट पुरस्कृत भएको पुस्तकको निरन्तरता अथवा अर्को खण्ड भन्नुपर्ने हुन्छ।’
उनले इङ्नामले कतिपय हराउन लागिसकेका सामग्रीहरूलाई संग्रहित गरेर ल्याएको र यो पुस्तक पाठक र दशीप्रमाण खोज्नेहरूका लाहि महत्वपूर्ण रहेको बताए । ‘लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजनीतिक मामिलामा अनुसन्धान गर्ने सोधकर्ताहरूका लागि चाहीँ वहाँले साह्रै ठूलो काम गर्नुभएको छ’, उनले थपे ।
इतिहासविद दिनेशरज पन्तले यो पुस्तक लिम्बुवानका लागि मात्रै नभई सबैको लागि भएको बताए । उनले भने, ‘भगिराज इङ्नामले धेरै वर्षसम्म सरकारको उच्च अधिकृत भएर काम गरेर निर्बृत्त हुनुभएको, त्यसपछि वहाँले यो क्षेत्रलाई लिएर जुन इतिहासका कुराहरूलाई लेख्ने, पछिल्लो समयमा सामग्री संकलन गर्न थाल्नुभयो, यो कामले लिम्बुवान क्षेत्रलाई मात्र हैन, किरात क्षेत्रलाई मात्रै हैन सबैले अनुकरण गर्नुपर्ने काम भएको छ ।’
आफ्नो पुस्तकबारे बोल्दै इङ्नामले यो पुस्तक सम्पूर्ण नभएको बताए। भावी पुस्ताले खोज्नुपर्ने अझ धेरै कुराहरू रहेको उनले जानकारी दिए ।

पुस्तकबारे बोल्दै कार्यक्रमका प्रमुख अतिथि बैरागी काइलाले यो एक महत्वपूर्ण ग्रन्थ भएको टिप्पणी गरे । यस पुस्तकबाट याक्थुङ लाजेको धेरै कुरा थाहा पाइने भन्दै काइलाले भने, ‘इतिहास भन्नाले हामीलाई के लागेको छ भने शासन गर्ने परिवारको पुस्तापुस्ता अनुसार घट्ने राष्ट्रिय घटनाहरूको विवरण, तिनको निर्देशन र त्यसले पार्ने प्रभाव । तर यो किताबले हामीलाई एउटा के ज्ञान दिन्छ भने झण्डै यो ३ सय बर्षभित्र हाम्रो राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थितिहरूको बारेमा त्यहाँ भएका किपोट, लागत, रुक्का आदि जो छन्, तिनले हाम्रो स्थिति के थियो ? समाज कसरी चल्थ्यो? भन्ने कुरा यहाँ संग्रहित गरिएको हामी बुझ्छौं।’
यस्तै, कार्यक्रमको समापन गर्ने क्रममा कियाचु अध्यक्ष प्रेम येक्तेनले ‘याक्थुङ’ शब्दमा विवाद गर्नुपर्ने कुनै सन्दर्भ नै नभएको बताए । ‘बाँकी लिम्बुको कुरा, किरातको कुरा, आदिवासीको कुरा,जनजातिको कुरालगायत भोली पर्सी अरु पनि कानुनी रुपमा हामी केही विषयहरू प्राप्त गर्छौं भने ती विषयहरू कानुनी रुपले, राजनीति रुपले राजनीतिक इतिहासको सन्दर्भमा प्राप्त भएका विषयवस्तुहरूलाई कसरी र कुन हदसम्म लिएर जाने? कहाँसम्म नलाने? यो हामीले गम्भीर रुपमा डिस्कोर्स गर्नुपर्ने विषय हो’, उनले भने।

अध्यक्ष येक्तेनले इङ्नामका सबै पुस्तकहरू पढेको उल्लेख गर्दै भने, ‘हाम्रो यो हिजोको बिरासतको इतिहास भयो, यो लिम्बुको बिरासतको इतिहास हैन। यो लिम्बुवान भूमि र त्याहाको राज्यसत्ताको बिरासतको इतिहास हो ।’
मुन्धुम एकाडमीको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका संचालन साहित्यकार तथा अनुसन्धानकर्ता डिबी आम्बुङले गरेका थिए।