काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकी छन् । एञ्जिलाले २०२४-०२५ को सिजनमा ग्रिसको वुमेन्स सुपर लिग खेल्ने तय भएको हो ।
तुम्बापोले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एकवर्षे सम्झौता गरेको जनाएकी छन्। एञ्जिला एसिया बाहिर लिग खेल्ने दोस्रो महिला खेलाडी हुन्। यसअघि एपिएफकै सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो खेलाडी भएकी थिइन् । इजरायली लिगमा खेलेपछि अहिले सावित्रा फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पमा आबद्ध छिन् । पछिल्लो संस्करणको ग्रिस वुमेन्स लिगमा निस एट्रोमिटोउ १४ क्लबमध्ये नवौं स्थानमा रहेको छ।
यसअघि एपिएफसँग आबद्ध रहेकी तुम्बापोले यसअघि भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छन्। उनलाई साउदी अरेबियाको वुमेन्स प्रो-लिगमा खेल्ने प्रस्ताव आए पनि ग्रिसलाई नै आफ्नो गन्तव्य बनाउने सोच बनाइन्। यद्यपि भिसाका कारण खेल्न नपाएमा साउदी जाने उनकाे विचार छ। २०६८ देखि एञ्जिलाले व्यावसायिक फुटबल खेल्दै आएकी छिन्।