विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले चार/चार मन्त्रालय भागबन्डामा लगभग सहमति गरेको समाचार प्राप्त भएको छ ।
श्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउनेछ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की माओवादी केन्द्रले छाडेका तीन वटा र आफैसँग राखेका कृषि मन्त्रालय दिने तयारीमा छन् । भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा थियो । माओवादीले सरकार छाडेपछि ती मन्त्रालय मुख्यमन्त्रीसँगै छ । उद्योग कृषि तथा सहकारी मन्त्रालय विगतदेखि नै मुख्यमन्त्री कार्कीको नेतृत्वमा छ ।
कांग्रेसले भने माओवादी केन्द्रले छाडेको बाहेक आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमध्ये एक पाउनुपर्ने बताएको छ ।
अनौपचारिक छलफल विराटनगरमा गरेर औपचारिक छलफल काठमाडौंमा टुंग्याउने श्रोतको दाबी छ ।