दमक । नेपाली लोक संगीतका एक पुराना सर्जक एलपी जोशीको बिहीबार साँझ झापा दमकमा निधन भएको छ ।
‘वल्लो खोलो पल्लो खोलो’ ‘रिटिङ–रिटिङ नबजाऊ बिनायो’, जस्ता दर्जनौं कालजयी लोक गीतका गायक जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो ।
धनकुटा जिल्लाको ६ नम्बरको बीच बजारमा १९९३ सालमा जन्मिएका जोशी पछिल्लो समय झापामा बस्थे । दुई छोरामध्ये कान्छालाई तीन वर्ष अगाडि र एक दशक अगाडि पत्नी गुमाएर पारिवारिक शोकमा रहेका जोशी पाको उमेरमा पनि गीत संकलनमा सक्रिय थिए ।
जोशीले पहिलोपटक २०१३ सालमा एउटा राष्ट्रिय गीत रेकर्ड गरेर रेडियो नेपालबाट गायन यात्रा आरम्भ गरेका थिए।