April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

दुई दिवसीय प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

945

विराटनगर । मोरङको बिराटनगरस्थित बिग होटलमा दुई दिवसीय प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको उक्त गोष्ठीको माननीय उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रवि लामिछानेले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढन्ुपर्ने बताए । उनले बैदेशिक रोजगारीको प्रलोभन दिएर गरीने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्त चित्त भई लागि पर्न निर्देशन दिए ।

Advertisement

उनले बिपद व्यवस्थापनका लागि उपलव्ध श्रोत साधनसहित तयारी अवस्थामा रहन, अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, आत्महत्या न्युनिकरण तथा लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न जोड दिनुपर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न जिम्मवार निकायहरूले आ–आफ्नो स्थानबाट सक्रिय रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उनले समस्या परेको बेला नागरिक पहिला प्रहरी समक्ष पुग्ने हुँदा उनीहरूको बिनम्रताका साथ गुनासो सुनुवाई गर्नुपर्ने बताए । लागू पदार्थ दुर्व्यसन यस प्रदेशको ठूलो समस्याकोरुपमा देखा परेकोले यसको नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र विशेष अभियानका साथ स्कुल प्रशिक्षण तथा सचेतानमूलक कार्यक्रमहरु संचालन गर्न सरोकारवाला निकायहरुलाई आह्वान समेत गरे ।

कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदानप्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै बिगतमा भएका कमिकमजोरीहरुबाट पाठसमेत सिक्नुपर्ने बताए । मानब बेचबिखन, लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी जस्ता अवैधानिक गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नु पर्नेमा जोड दिए । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतिको निराकरण र समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न समेत उनले निर्देशन दिए।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्ष्म, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताए । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्‍चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकुल परिमार्जन गर्दै लैजान र प्रहरीलाई हातहतियार भन्दा पनि कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताए । विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उनले उल्लेख गरे ।

गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ–आफ्नो कार्यक्षेत्रमा अग्रसर रही कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उनले निर्देशन दिए ।

उक्त गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, गृह मन्त्रालयका सह–सचिवहरू नारायण प्रसाद भट्टराई, भीष्म कुमार भूसाल र थानेश्‍वर गौतमले आ–आफ्नो भनाई राखेका थिए ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कोशी प्रदेशको समग्र विद्यमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतिकरण गरेका थिए।

यसै गरी कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतिकरण गरेका थिए । उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।