April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

वैदेशिक रोजगारीका सन्दर्भमा पीडकहरू नै मालामाल भइरहेका छन्: प्रभु साह

855

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूसँग म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा रकम लिइरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले विदेश जाने युवाहरूमाथि ठगी भइरहे पनि सरकार मुकदर्शक बनेको बताएका हुन् ।

सांसद साहले भने, ‘वैदेशिक रोजगारीका सन्दर्भमा पीडकहरू नै मालामाल भइरहेका छन् । यसलाई रोकिएन भने जनता चुप लागेर बस्छन् जस्तो लाग्दैन । यसकारण सरकारले समयमै ध्यान देओस् ।’

१० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने प्रावधान रहेपनि म्यानपावर एजेन्टले लाखौं रुपैयाँ असुल गरिरहेको भन्दै साहले प्रश्न गरे, ‘युवाले गैरकानुनी रूपमा दिएको रकम फिर्ता पाउँछन् कि पाउँदैनन् ?’

Advertisement

एनले सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेकोे बताए । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन ? यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’

नेपालको संविधानले रोजगारीलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको उल्लेख गर्दै मौलिक अधिकारको दायित्व सरकारले बहन गर्न सक्नुपर्ने उनले बताए ।

साहले सरकार गम्भीर नहुँदा बेरोजगारीमाथि व्यापार भइरहेको बताए । ‘बेरोजगारमाथि व्यापार भइरहेको छ । बेरोजगार युवालाई आम्दानीको स्रोत बनाइएको छ । तिनिहरूलाई प्रयोग गरिएको छ,’ उनले भने ।

यस्तै, गैरकानुनी रूपमा रकम लिने म्यानपावर व्यावसायीलाई नियन्त्रणमा लिन पनि उनले सरकारलाई आग्रह गरे । ‘के सरकारले यस्तो अवैध व्यापार नियन्त्रण गर्न नसक्ने हो ?’ उनको प्रश्न छ ।

युवाहरू मेडिकल परीक्षण गरेर विदेश जाने गरेको तर विदेशमा मृत्युवरण गर्नुपर्ने अवस्थाको खोजी गरिनुपर्ने उनको माग छ । उनको प्रश्न छ, ‘मेडिकल टेस्ट पास गरेर युवाहरू विदेश गएका हुन्छन् । यसको मतलब उनीहरू निरोगी हुन्छन् । तर केही समयमै विदेशमा ज्यान कसरी गुमाउन पुग्छन् ? यसबारे छानबिन गर्न नपर्ने हो ?’

युवालाई विदेश पठाउने नाममा व्यापार गर्ने कार्यमा सरकारमा रहेका व्यक्ति, राजदूतहरू, वैदेशिक रोजगार विभागमा रहेका अधिकारीहरू समेत संलग्न रहेको उनको आशंका छ ।