April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

‘युक्पुङ’ को कथाले भित्रैसम्म छोएपछि ‘हाङमति’ बन्न राजी भएँ– सेसेमा

2.2K

‘विदेशी चलचित्रको नक्कल गर्नुको सट्टा माटो सुहाउदो मौलिक कथाहरूलाई देशभित्रका सुन्दर ठाउँहरूमा कैद गरे लाभदायक होला कि भन्ने लाग्छ ।’, यो नेपाली चलचित्र कस्तो बन्नुपर्छ ? भन्ने सन्दर्भमा अभिनेत्री सेसेमा सेन्दाङ ‘कमला’ले दिएको अभिव्यक्ति हो । उनी माटोकै कथामा आधारित हाल चर्चामा रहेको चलचित्र ‘युक्पुङ’की नायिका हुन् ।

म्युजिक भिडियो, चलचित्रमा सहायक भूमिका हुँदै मुख्य भूमिकासम्म आइपुगेकी सेन्दाङ बच्चैदेखि अभिनयमा सौख राख्ने गर्थिन् । पूर्वको कन्चनजंघा हिमालको काख ताप्लेजुङ्गको ढुंगेसाँघु तेम्बेमा जन्मिएकी सेन्दाङको बाल्यकालका केही क्षण मात्रै नेपालमा वित्यो बाँकी हङकङमा । बुबा ब्रिटिस सेनामा कार्यरत हुँदा सपरिवार हङकङ पुगेका थिए । उनी उतै हुर्किईन् । प्राथमिक शिक्षा हङकङस्तिथ ‘गोर्खा चिल्ड्रेन स्कुल’मा अध्ययन गरिन् । एसएलसी भने नेपालको धरानस्थित डिपोट स्कुलबाट गरिन् । ‘बच्चैदेखि नाच्न र नाटकमा भाग लिन अत्ति इच्छा लाग्थ्यो । प्रायः स्कुलको सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुन्थें । सोही क्रममा एकपटक बेलायतका राजपरिवारका सदस्यहरू, राजकुमारी आन र लेडी डाइना हाम्रो स्कुलमा भ्रमणको लागि आउनुभएको थियो । त्यतिबेला मैले नृत्य प्रस्तुत गर्ने अवसर पाएको थिएँ, जुन मेरो जीवनकै महत्वपूर्ण र अविस्मरणीय क्षण बन्यो’, उनी आफ्नो विद्यार्थी जीवन स्मरण गर्छिन् ।

तर, सेन्दाङलाई आफ्नो अभिनय यात्रा भर्खर सुरु हुँदैछ भन्ने लाग्छ । बाल्यकालदेखि नै टेलिभिजनमा हेरेर विशेष गरी चलचित्र र महिला कलाकारहरुको अभिनयको नक्कल गर्न रुचाउने उनीमा निर्धक्क साथ नाटकमा अभिनय र नृत्य प्रस्तुत गर्ने क्षमता थियो । उनी स्मरण गर्छिन्, ‘म सानै उमेरदेखि रचनात्मक थिए । मभित्र कलाप्रतिको मोह थियो ।’

Advertisement

अभिनयकै लागि भने उनी सही समयको पखाईमा थिइन् । चलचित्र क्षेत्रमा लाग्ने नेपाली महिलाहरूप्रति राखिने परम्परागत धारणा, सोच र समयको अभाव विविध कारण उनी यस क्षेत्रबाट टाढा थिईन् । जसै समय मिल्यो, उनले एक नेपाली गीतको म्युजिक भिडियो ‘शितल लाग्छ’मा अभिनय गरिन् । त्यपछि एक चलचित्र ‘युर्टन’मा सहयोगी भूमिका निर्वाह गरिन् । यी दुई उनको डेब्यु म्युजिक भिडियो र चलचित्र थिए । बेलायतबाट पहिलोपटक लिम्बु भाषाको म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री हुन् सेसेमा । उनले ‘तरेबा दिक् निसुङ् रो’ खेल्न अघि लिम्बु भाषामा बेलायतमा कुनै म्युजिक भिडियो छायांकन गरिएको थिएन । उनले आजसम्म लिम्बु र नेपाली गरेर करिब दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

अभिनेत्री तथा समाजसेवी सेसेमा सेन्दाङ ‘कमला
अभिनेत्री तथा समाजसेवी सेसेमा सेन्दाङ ‘कमला

चलचित्र ‘युक्पुङ’को मुख्य भूमिकामा देखिन्छन् सेसेमा । नोगेन अर्गानिक इन्टरटेन्मेण्ट प्रोडक्सनको निर्माण रहेको युक्पुङ चलचित्रको कथा सुनेरै आफू अभिनय गर्न लालायित भएको उनी बताउछिन् । उनले नेपाल मामिलासँग भनिन्, ‘अभिनयको लागि प्रस्ताव आएपछि मैले चलचित्रको कथा राम्रोसँग अध्ययन गरें । कथामा एक संर्घषरत लिम्बु युवतीको हृदयस्पर्शी मार्मिक कथा पाएँ, जसले मेरो मन अत्ति छोयो । म सामाजिक/साँस्कृतिक सस्थाहरुसँग आवद्ध भई याक्थुङ/लिम्बु संस्कारसंस्कृति प्रवर्दनका लागि काम गर्दै आएको मान्छे, यस्तो चलचित्रको लागि प्रस्ताव आउँदा अस्वीकार गर्ने कुरै भएन ।’

उसो त हाङमति (चलचित्रकी पात्र)ले जसरी गाउँमा संघर्ष गर्नुपर्दाको अनुभव नायिका सेन्दाङसँग छैन । गाउँले जीवन र संघर्ष देख्न/भोग्न नपाई हङकङ पुगेकी उनको ब्रिटिस आर्मीसँग विवाह भयो । हाल उनी श्रीमानसँगै बेलायत बस्दै आएकी छन् । नर्सिङ्ग पेशामा आवद्ध उनी हाल ६० जनाको समूहलाई नेतृत्व गर्दै मेट्रोनको रुपमा कार्यरत छिन् । ‘मैले पहिलोपटक पहाड टेकेकै युक्पुङको सुटिङमा हो’, उनले अनुभव सुनाईन् ।

तर, सेसेमाको अभिनयमा कुनै प्रश्न नरहेको ‘युक्पुङ’का नायक कुसल थलङ बताउछन् । ‘सानैमा गाउँ त के, देशै छोडेर हङ्कङ गएको मान्छे, उतैको जीवनशैली बाँचेको वहाँलाई यो भूमिका निर्वाह गर्नु ठूलो चुनौति थियो ।’, थलङ भन्छन्–‘तर वहाँले जीवन्त अभिनय गर्नुभएको छ । यो मेरो मात्रै हैन, आम दर्शकको प्रतिक्रिया हो ।’

दर्शकहरुको यस्ता किसिमका प्रतिक्रियाले आफूलाई उर्जा दिएको अभिनेत्री सेन्दाङ बताउछिन् । ‘म सन्तुष्ट छु ।’, उनी भन्छिन् ।

चलचित्र युक्पुङ सामाजिक/सांस्कृतिक रुपले प्रभावकारी रहेको सेन्दाङको दाबी छ । यसमा अनुभवि कलाकारहरुसँग सहकार्य गर्न पाउँदा उनीहरबाट अझैं सिक्ने मौका मिलेको उनी बताउछिन् । सम्पूर्ण निर्माण टिमकै काम उत्कृष्ट भएको हुँदा यो चलचित्र सफल बन्नेमा उनी ढुक्क छिन् । उसो त यस चलचित्रको उद्देश्य व्यापारिक नभएर लोप हुन लागेका परम्परागत संस्कृतिहरुलाई जोगाउनु तथा यसको महत्वलाई नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्नु रहेको उनको स्पष्टीकरण छ ।

पछिल्लो समय चलचित्र निर्माणमा महिलाहरूको राम्रो उपस्थिति छ । व्यवसायिक रुपमा सफल पनि भएका छन् । यस प्रश्नमा सेसेमा भने अहिले अभिनयमै केन्द्रित रहेको बताउछिन् ।